काठमाडौं । रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । लेगानेस विरुद्ध दुई गोलको अग्रता गुमाए पनि गोन्जालो गार्सियाले इन्जुरी टाइम गोल गरेपछि मड्रिडले ३-२ गोल अन्तरको नाटकीय जित हात पारेको हो ।
कार्लो एन्सेलोटीको परिवर्तन सहितको टोलीले एस्टाडियो म्युनिसिपाल डे बुटार्केमा सुरूआत राम्रो गरेको थियो । खेलको आठौं मिनेटमा रोड्रिगोको पासबाट लुका मोड्रिचले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसपछि २५ औं मिनेटमा एन्ड्रिकले गोल गर्दै रियालको अग्रता दोब्बर बनाए । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोली लेगानेस खेलमा फर्कियो । ३८औं मिनेटमा युवा खेलाडी जाकबो रामोनको ह्यान्डबलको कारण पाएको पेनाल्टीलाई जुआन क्रुजले सहजै जाली चुमाए ।
रियलले यस सिजन कुल ६ पेनाल्टी बेहोरेको छ । जुन स्पेनिस टिममध्ये लास पाल्मास ९, जिरोना ७ र अलाभेस ७ भन्दा मात्र कम हो । त्यसपछि ५९ औं मिनेटमा क्रुजकै गोलले खेल बराबरी भयो । उनले डार्को ब्रासानाकसँग वन-टु खेल्दै गरेको प्रहार राउल असेन्सियोबाट डिफ्लेक्सन हुँदै गोलपोस्टभित्र प्रवेश गरेको थियो ।
एन्सेलोटीले दोस्रो हाफमा भिनिसियस जुनियरलाई मैदानमा उतारे । भिनिसियसको एक प्रहार पोस्टमा लागेर फर्किएको थियो भने ब्राहिम डियाजको प्रहार क्रसबारमा ठोक्किएको थियो । तर, इन्जुरी टाइमको तेस्रो मिनेटमा नियर-पोस्टबाट २० वर्षीय गोन्जालो गार्सियाले हेड गर्दै रियाललाई ३-२ को जित दिलाए ।
यससँगै रियल पछिल्ला सात कोपा डेल रेमध्ये तेस्रो पटक सेमिफाइनलमा पुग्न सफल भयो ।