च्याम्पियन्स ट्रफीबारे छलफल गर्न आईसीसीको बैठक बस्दै

मंसिर ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स ट्रफीबारे छलफल गर्न आईसीसीको बैठक बस्दै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको बोर्ड बैठकमा च्याम्पियन्स ट्रफी हाइब्रिड मोडेलमा गर्ने प्रस्ताव अघि सारिने भएको छ । अर्को हप्ताको लागि बोलाइएको बैठकको लागि च्याम्पियन्स ट्रफीको मात्रै एजेन्डा समावेश गरिएको छ।

च्याम्पियन्स ट्रफी सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने निर्धारण भएको छ । तर भारतले पाकिस्तान भ्रमण नगर्ने भएपछि यो प्रतियोगिताको भाविष्य निर्धारणको लागि आईसीसीको बैठक बस्न लागेको हो।

नोभेम्बर २६ को बैठकमा हाइब्रिड मोडेलमा प्रतियोगिता गर्न प्रस्ताव गरिने छ । यो मोडेलमा प्रतियोगिता आयोजक पाकिस्तानबाहेक अन्य कुनै एक विदेशी भूमिमा पनि खेल आयोजना गरिनेछ । यता पाकिस्तानी क्रिकेट बोर्डले भने प्रतियोगिताको बारेमा आईसीसीबाट नयाँ सूचना नआएको जानकारी दिएको छ ।

सो बैठकमा १२ पूर्ण सदस्य देशका प्रतिनिधि समावेश हुनेछन्। आईसीसी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत रहने बैठकमा एसोसिएट देशका प्रतिनिधि पनि समावेश हुनेछन्। भारतको क्रिकेट बोर्ड बिसीसीआईले आईसीसीलाई रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिमको पाकिस्तान भ्रमणलाई भारतीय सरकारले अनुमति नदिएको जानकारी दिएको छ । त्यसपछि आईसीसीको बैठक बस्न लागेको हो।

पाकिस्तानले तीन वर्ष अघि नै यो प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.