काठमाडौं । भारत उत्तराखण्डको अल्मोडा जिल्लास्थित मार्चुला क्षेत्रमा यात्रु बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
अल्मोडाको रामनगर जाँदै गरेको बस आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।
अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले स्थानीय बासिन्दाको सहयोगमा उद्धार भइरहेको बताउनुभएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न राज्य प्रशासनलाई निर्देशन दिनुभएको बताइएको छ । आवश्यक परेमा गम्भीर घाइते यात्रुहरूको हवाई उद्धार गर्न पनि निर्देशन दिइएको छ ।
मुख्यमन्त्री धामीले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । राज्य तथा केन्द्रीय उद्धार कर्मीहरुको टोली पनि घटनास्थलमा पुगेको बताइएको छ ।