त्रिकोणत्मक टी-ट्वेन्टी आई सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्ने

पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणत्मक टी-ट्वेन्टी आई सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्ने

काठमाडौं । नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणत्मक टि-ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । किङ सिटीमा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ ।

निरन्तर हारको श्रृंखलाबाट गुज्रिरहेको नेपालले क्यानडामा पनि खराब प्रदर्शन गरेको छ । लिग टुमा ८ मध्ये ६ खेल हार्दा १ खेलमा ओमानविरुद्ध वर्षाका कारण अंक बाँडेको नेपालले यस टी-२० आई सिरिजमा पनि खराब ब्याटिङलाई निरन्तरता दियो । गएराति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

क्यानडाले २० ओभरमा आठ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ गर्दै क्यानडालाई कम योगफलमा रोकेका थिए । सोमपाल कामी र संदिप लामिछानेले तीन-तीन विकेट लिएका थिए । रिजन ढकाल र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट बाँडे । टी-२० आई डेब्यू गर्दै लेफ्ट आर्म मिडियम पेसर रिजनले राम्रो प्रदर्शन गरेपनि नेपाली ब्याटरबाट राम्रो साथ पाउन सकेनन् ।

लिग टुको अन्तिम खेल खेलेका ५ खेलाडीलाई बेञ्चमा राख्दै क्यानडाविरुद्ध टी-२० आईका लागि नेपाली टोली मैदानमा उत्रिएको थियो । दीपेन्द्रले किफायती बलिङ गरे पनि उनीबाट टिमले राम्रो ब्याटिङको अपेक्षा गरेको थियो । देव खनालका लागि टी-२० आई डेब्यु खास हुन सकेन । उनी ११ रनमा बाहिरिए । कम ब्याक गरेका कुशल मल्ल र कुशल भुर्तेलको प्रदर्शनले पनि नेपाललाई निरास पार्यो ।

कुशल भुर्तेललाई मिडिल अर्डरमा खेलाउने प्रशिक्षक मोन्टी देशाईको रणनीति सफल हुन सकेन । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय नौ रनमा अल आउट भएको थियो । क्यानडामा नेपालको यो लगातार चौथो हार हो । एकदिवसीय र टी-२० आई गरी पछिल्ला १० खेलमा नेपाल जितविहीन छ ।

ओमानविरुद्धको यस खेलमा गुल्सन झाले अवसर पाउन सक्छन् । क्यानडा भ्रमण अन्तर्गत लिग टू सिरिजमा गुल्सन नेपालका लागि सर्वाधिक रनकर्ता थिए भने उनले नै नेपालबाट सबै भन्दा बढी विकेट समेत लिएका थिए ।

टी-२० आईमा नेपाल र ओमानले हाल सम्म ६ खेल खेल्दा दुबै टिमले ३-३ जित हात पारेका छन् । निरन्तरको हार प्रशिक्षक मोन्टी देशाइ र कप्तान रोहित पौडेलका लागि चिन्ताको विषय बन्दा नेपाली टोली यस खेलमार्फत् लय समात्ने लक्ष्यमा हुने छ । यस मैदानमा टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्न सक्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.