शीर्ष पाँचमा रहँदै वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरणमा

चन्द्रपुर २-१ गोलले पराजित
आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
शीर्ष पाँचमा रहँदै वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरणमा

ललितपुर । वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । वालिङले, चन्द्रपुर नगरपालिका माथि दुई एक गोलको जित हात पार्दै सुपर लिगमा स्थान सुरक्षित गरेको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा वालिङले पाचौँ मिनेटमानै अग्रता लिएको थियो । सिसी नान्तोगोले प्रहार गरेको कर्नर चन्द्रपुरकी गोलकिपर उषा थापाले पन्च गरेकी थिइन् । रिवाउन्डमा सुक्रिया मियाले गोल गर्दै वालिङलाइ ब्रेक थ्रु दिलाइन् । ३७ औं मिनेटमा वालिङले दोस्रो गोल थप्यो ।

सुस्मा तामाङको क्रसमा ज्याकिलन नसालीले गोल गरेपछि पहिलो हाफमानै वालिङ दुई शून्यको अग्रता लिन सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा चन्द्रपुरले ५० औं मिनेटमा गोल फर्काएर पुनरागमनको प्रयास गर्यो । सुनिता सुनारले गोल गरेपछि वालिङ सतर्क बनेको थियो । तर केही दबाबका बीच आफ्नो अग्रता जोगाएको वालिङले चौथो स्थानमा रहदै सुपर लिगमा प्रवेश पायो ।

वालिङले लिगको पहिलो चरणको समाप्तिमा नौ खेलबाट १५ अंक जोड्यो । उसले पांचमा जीत र चारमा हार बेहोरेको हो । चन्द्रपुरले भने आठौं स्थानमा रहदै यो सिजनको लिग अन्त्य गरेको छ । नौ खेलमा चन्द्रपुरले मात्र एक खेल जित्दा पाँचमा बराबरी र तीनमा हार सहित आठ अंक जोडेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement