काठमाडौं । तीन खेलको टी-२० आई सिरिजको दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेपछि इंग्ल्यान्डले सिरिजमा १-१ को बराबरी गरेको छ । इंग्ल्यान्डले अष्ट्रेलियालाई ३ विकेटले हराएको हो ।
घरेलु टोलीको जितमा लियाम लिभिङ स्टोनले अल राउन्ड प्रदर्शन गरे । मिचेल मार्स दोस्रो टी-२० बाट बाहिरिएपछि ट्राभिस हेडले पहिलो पटक अष्ट्रेलियाको कप्तानी गरेका थिए । सोफिया गार्डन, कार्डिफमा घरेलु टोलीले टस जितेपछि अष्ट्रेलियालाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।
पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । मार्सको स्थानमा टोलीमा आएका जेक फ्रेजर-म्याकगर्कले आफ्नो पहिलो टी-२० अर्धशतक पूरा गर्दै ३१ बलमा ४ चौका र २ छक्काको मद्दतले ५० रन बनाए । जोस इंग्लिसले ४२ रन र कप्तान ट्राभिस हेडले १४ बलमा ३१ रन जोडे । इंग्ल्यान्डका ब्रायडन कार्से र लिभिङ स्टोनले २-२ विकेट लिए ।
१ सय ९४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको इंग्लिस टोलीलीले १ ओभर बाँकी रहदै ७ विकेट गुमाएर जित हासिल गर्यो । चौथो ओभरमा विल ज्याक १२ र जोर्डन कक्स शून्यमा आउट भएपछि कप्तान फिलिप साल्ट र लियाम लिभिङस्टोनले इनिङ्सलाई अघि बढाए ।
साल्ट ३९ रनमा आउट हुँदा लिभिङस्टोनले आक्रमक ब्याटिङ गर्दै ४७ बलमा ८७ रनको विस्फोटक इनिङ्स खेले । ज्याकब बेथेलले ४४ रनको योगदान दिए । अष्ट्रेलियाका म्याथ्यु शर्टले ५ विकेट लिए पनि एक खेल अगावै सिरिज जित्ने भ्रमण टोलीको योजना सफल हुन सकेन । सिरिजको तेस्रो तथा अन्तिम भोलि म्यानचेस्टरमा हुनेछ ।