चिन्नुहुन्छ- कुन राम हुन्, अनि कुन लक्षु ?

भाद्र १८, २०८१ |सविना कार्की
चिन्नुहुन्छ- कुन राम हुन्, अनि कुन लक्षु ?

काठमाडौं । सबैभन्दा पहिला तपाईंलाइ प्रश्न– यो तस्बिरमा देखिएका दुई जना मध्ये राम कुन हुन, अनि लक्षु कुन ? पक्कै पनि चिन्न गाह्रो नै भयो होला है । तपाईंलाइ मात्र होइन, टिम मेट र प्रशिक्षक पनि बारम्बार झुक्किन्छन् । खेलका क्रममा पोजिसनले राम र लक्षु चिन्न सजिलो हुन्छ । राम सेन्टर ब्याक र लक्षु सेन्टर मिडमा खेल्छन् ।

घरेलु मैदानमा भएको साफ अन्डर-ट्वेन्टी च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा राम-लक्षु दुवै स्क्वाडमा थिए । राम प्रतियोगिताका सवै खेलमा सुरुवाती एघारमा रहे । लक्षु भने बेन्चबाट मैदान प्रवेश गरे । फाइनलमा भने दाजु-भाइले नै सुरुवात गर्ने मौका पाएका थिए ।

राम-लक्षु तनहुँको बन्दीपुरका हुन् । उनीहरु आधा घन्टा फरकमा जन्मिएका हुन् । फुटबल मोह कहिलेदेखि जाग्यो दुवै जनालाइ राम्रोसँग थाह छैन । रामले भन्दा पहिले लक्षुले खेल्न सुरु गरेका हुन् । झगडा गरेर सम्हाल्नै गाह्रो भएपछि रामलाइ आमाले करिब पाँच वर्ष आफन्तकोमा राखेकी थिइन् ।

स्वभावले राम शान्त छन्, लक्षु अलि आक्रमक । यी दुईमा सिब्लिङ्समा हुनुपर्ने सबै गुण छन् । राम माथि लक्षु हाबी छन् । राम, लच्छुले भनेको कुरा प्रायः काट्दैनन् । तर लक्षु ठीक विपरीत ।

झट्ट हेर्दा दाजु-भाइमा झगडा बाहेक केही छैन जस्तो लाग्छ । तर उनीहरु बीचको माया सायदै शब्दमा भन्न सकिएला । रामलाइ थाहा छ- लक्षुको आक्रामक शैली । त्यसैले उनी आफूलाइ शान्त राख्छन् । ३० मिनेटको फरक नै किन नहोस् आखिर उनी दाजु हुन् ।

राम र लक्षुको हँसिलो मुहारमा दुःख पनि लुकेको छ । उनका बाबु-आमा जुम्ल्याह छोराको खेल हेर्दा भावुक नबनेको सायदै होला । किनकि उनीहरु राम-लक्षुमा आफूहरुले गुमाएको जेठो छोरा पनि देख्छन् । उनी झन् फुटबलमा अब्बल थिए । तर २०७४ सालमा एसईई दिएर फर्किंदा खोलामा डुबेर उनको ज्यान गयो ।

लामो समय वैदेशिक रोजगारीमा बिताएर फर्किएका बाबु र आमालाइ कहिले काहीँ लाग्छ छोराहरु लाहुरे बनिदिए हुन्थ्यो । तर छोराहरुको खुशीको अगाडि सबै सपना फिक्का लाग्छन् । साफको फाइनल हेर्न राम-लक्षुका आमा-बुवा दुवै जना काठमाडौं आएका थिए । उनीहरुले पहिलो पटक छोराहरुले नेपालबाट खेलेको हेरेका हुन् ।

कुरा गरिरहँदा के महशुस भयो भने लक्षु दाईलाइ जति सताउँछन् त्योभन्दा धेरै माया र सम्मान गर्छन् । नभए अन्डर नाइन्टिन टिममा दाजु नपर्दा उनी किन रुन्थे त ? दुवै जनाको लक्ष्य अब सिनियर टिममा पर्नु हो । तर लक्षुलाइ आफूभन्दा पहिले रामले राष्ट्रिय टोलीमा स्थान बनाउनेमा विश्वास छ ।

राम राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्दका फ्यान हुन, लक्षुलाइ आयुष घलान असाध्यै मन पर्छ । उनीहरुको अनुहार मात्र मिल्दैन, सपना र लक्ष्य पनि एउटै छ । रामले आफ्नो दुख र सुखमा सबैभन्दा पहिले कसैको साथ पाउँछन् भने ती लक्षु हुन् । अनि लक्षुका लागि राम, बेस्ट फ्रेन्ड ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।