फुटबलप्रतिको क्रेज : भारी वर्षामा पनि ओइरिए दर्शक

श्रावण ३०, २०८१ |प्रदीप लेखी
फुटबलप्रतिको क्रेज : भारी वर्षामा पनि ओइरिए दर्शक

काठमाडौं । फुटबलप्रति दर्शकको क्रेज हेर्ने हो भने नेपाल दक्षिण एसियामै पहिलो नम्बरमा पर्छ भनिन्छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा नेपाली टिमको समर्थन गर्न रंगशालामा दर्शक अटाउनै मुस्किल हुन्छ । २०८० मंसिर ५ गते विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल र यमनबीचको खेल हेर्ने दर्शकले दशरथ रंगशाला नै भरिभराउ भएको थियो । 

तर त्यसयताका ९ महिना भने रंगशालाको कमजोर संरचनाका कारण नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता नै हुन सकेनन् । हिजो सम्पन्न एएफसी च्यालेन्ज लिगमा नेपाली क्लब चर्च ब्वाइज र भुटानी क्लब पारो एफसीबीचको खेल हेर्न फेरि दर्शक रंगशालासम्म आइपुगे । तर, खेल हुनु एक घण्टाअघि भएको भारी वर्षाका कारण दर्शक प्रभावित भए ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय मैदान- दशरथ रंगशाला । नेपालमा हुने कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही रंगशालामा हुन्छन् । आफ्नो देशको समर्थनका लागि रंगशालामा दर्शकको ओइरो नै लाग्छ । तर मंगलबार भएको एएफसी च्यालेन्ज लिगअन्तर्गत चर्चब्वाइज क्लब र भुटानको पारो एफसीबीचको खेल हेर्न वर्षाका कारण अपेक्षित दर्शक पुग्न सकेनन् ।

भुटानी क्लब पारो एफसीबाट विश्व फुटबलको चर्चित नाम जापानका होन्डा पनि सरिक थिए । उनी विश्व फुटबलकै लेजेन्ड खेलाडी हुन् । उनको जादुमय खेल हेर्न कतिपय दर्शक उपत्यका बाहिरबाट र केही त जापानबाट समेत आइपुगे । तर दर्शक संख्या ९ हजार ८ सय ७३ मात्र पुगे ।

प्रतियोगिता हुनु एक घण्टाअघिको भारी वर्षाले समेत दर्शकलाई रोक्न सकेन । ९ महिनादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न नपाएका दर्शक पानीले भिजेरै भए पनि रंगशालामा पुगे ।

पछिल्लो समय नेपाली फुटबलको ए डिभिजन लिग, महिला लिग सागै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु नहुँदा फुटबल प्रेमीलाई निराश बनाएको थियो । तर यो अन्तर्राष्ट्रिय प्रतियोगिताले फुटबल प्रेमीलाई फेरि नेपालमा फुटबल फर्किएको आभास दिलाएको छ ।

लामो समय सुस्ताएको नेपालको फुटबललाई चर्च ब्वाइज र पारो एफसीबीचको खेलले उर्जा भरेको छ । यसले नेपाली फुटबलप्रेमीहरुमा आशा जगाएको छ । त्यसैले निरन्तर प्रतियोगिता अनि त्यही अनुरुपको पूर्वाधार विकासमा सरोकारवाला निकायले ध्यान दिनैपर्ने देखिन्छ । 


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।