काठमाडौं । युरो कप च्याम्पियन स्पेन, पेरिस ओलम्पिक-२०२४ अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गए राति सम्पन्न खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो । स्पेनले अब स्वर्ण पदकका लागी आयोजक फ्रान्सको सामना गर्ने छ । टोकियो ओलम्पिक २०२० मा रजत पदक जितेको स्पेनले पहिलो हाफमा १ गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित हासिल गरेको हो ।
पहिलो हाफमा सुफियान रहिमीले गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी मार्फत गोल गरेका रहिमीका लागी जारी प्रतियोगितामा यो छैटौं गोल थियो । उनी अहिलेसम्म प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत हुन् । दोस्रो हाफको मध्यमा बार्सिलोनाका फर्मिन लोपेजले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि वैकल्पिक खेलाडी जुआनलु सान्चेजले गोल गर्दै स्पेनलाई फाइनलमा स्थान दिलाए ।
अब पेरिसमा शुक्रबार हुने फाइनलमा स्पेनले आयोजक फ्रान्सको सामना गर्ने छ । फ्रान्सले अतिरिक्त समयमा इजिप्टलाई ३-१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । बिहीबार कांस्य पदकका लागी हुने खेलमा मोरक्कोले इजिप्टको सामना गर्ने छ ।