एन्फाले क्यालेन्डर बनायो, प्रतियोगिता नियमित गर्न सकेन

श्रावण १८, २०८१ |प्रदीप लेखी
एन्फाले क्यालेन्डर बनायो, प्रतियोगिता नियमित गर्न सकेन

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले क्यालेन्डर बनाए पनि नियमित प्रतियोगिता गर्न सकेको छैन । महिला लिगका साथै पुरुषतर्फ ए र बी डिभिजन लिग पनि भएका छैनन् । यस्तो अवस्थामा अहिले भइरहेको अन्डर एटिन लिगमार्फत् युवा खेलाडीले आफ्नो प्रतिभा तिखार्ने मौका पाएका छन् र फुटबलमै भविष्य देख्ने अवसर पाएका छन् ।

नियमित प्रतियोगिता अभाव, खेलाडी पलायन, असफल महिला लिगका साथै घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन नसकेको भन्दै अखिल नेपाल फुटबल संघ-एन्फाको आलोचना हुँदै आएको छ । तर उमेर समूहका प्रतियोगिता भने मुस्किलले भइरहेका छन् । अहिले सातदोबाटोको एन्फा कम्प्लेक्समा अन्डर एटिन पुरुष फुटबल लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमार्फत् प्रतिभाशाली खेलाडीहरूको उदय भएको छ, जो फुटबलमा आफ्नो भविष्यको उज्यालो देख्न थालेका छन् । 

हुन त, एन्फा पनि देशभरबाट १४ र २० वर्षमुनिका खेलाडी छनोटमार्फत् फेरि फुटबलको माहौल फर्काउने प्रयासमा नभएको होइन । अहिले ग्रासरुटलाई केन्द्रमा राखेर गरिएको लिगले खेलाडीसँगै नयाँ प्रशिक्षकले अनुभव बटुल्न पाएका छन्। यस्तो प्रतियोगिता भइरहे आउने दिनमा नेपाली फुटबल विकासमा थप टेवा पुग्ने विश्वास प्रशिक्षकको छ ।

फुटबलका गतिविधिमा शिथिलता आए पनि यसको क्रेज घटेको छैन । अहिले भइरहेको लिगमा देशैभरका विभिन्न क्लबबाट २ सय ५० खेलाडी सहभागी छन्, जसले आउने दिनमा राष्ट्रिय टिमको बेन्च बलियो हुने विश्वास एन्फाको छ । अहिले देशभर जिल्ला लिग पनि सञ्चालनमा छन् । साथै यु-२०, सहिद स्मारक लिग र महिला लिगका लागि पनि छलफल भइरहेको एन्फाले  जनाएको छ । 

उमेर समूहको प्रतियोगिताले मात्र फुटबल पूर्णरुपमा चलायमान हुन सक्दैन । त्यसका लागि एन्फा दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्छ । क्यालेन्डर अनुसार ए, बि र सि डिभिजनका साथै महिला लिग र खेलाडीलाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजर दिन सकेमात्र नेपाली फुटबल चलायमान हुने छ । 


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।