आईसीसी टी-ट्वेन्टी विश्वकपमा न्युजिल्यान्डद्वारा पपुवा न्यु गिनी ७ विकेटले पराजित

दुवै टिमको विश्वकप यात्रा समाप्त
असार ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी टी-ट्वेन्टी विश्वकपमा न्युजिल्यान्डद्वारा पपुवा न्यु गिनी ७ विकेटले पराजित

काठमाडौं । न्युजिल्यान्डले समूहको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दै आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ को यात्रा समाप्त गरेको छ । न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको हो ।

न्युजिल्यान्डको जितमा फास्ट बलर लोकी फर्गुसनले कीर्तिमानी बलिङ गरे । ब्रायन लारा स्टेडियम, ट्रिनिडाडमा न्युजिल्यान्डले टस जितर फिल्डिङ रोजेको थियो । सुरुवातमा ब्याटिङ गरेको पीएनजीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७८ रनमात्र बनाउन सक्यो । चार्ल्स अमिनीले सर्वाधिक १७ रन बनाए । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा चारै ओभर मेडन राख्दै ३ विकेट लिए । उनी पुरुष टी-ट्वेन्टी विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो र समग्रमा दोस्रो बलर बने । ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोधीले २-२ सफलता हात पारे ।

जवाफमा ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । फिन एलेन इनिङ्सको दोस्रो बलमै बाहिरिए । रचिन रविन्द्रले ६ रन बनाए । ओपनर डेवन कन्वेले ३५ रन रनको योगदान दिए । कप्तान केन विलियम्सन १८ र डारल मिचेल १९ रनमा नटआउट रहे । यस जितसँगै न्युजिल्यान्डले ४ खेलमा ४ अंक जोड्दै विश्वकप यात्रा समाप्त गरेको छ । समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ प्रवेश गरिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.