नेपाल २१ रनले पराजित, बंगलादेश सुपर ८ मा

नेपालको विश्वपक यात्रा सकियो
सन्दीप लामिछाने बने टी–ट्वेन्टी आईमा १०० विकेट लिने नेपाली पहिलो खेलाडी
असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल २१ रनले पराजित, बंगलादेश सुपर ८ मा

सेन्ट भिन्सेन्ट । आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत बंगलादेश र नेपालबीच आज भएको खेलमा नेपाल २१ रनले पराजित भएको छ । यससँगै बंगलादेश समूह ‘बी’ बाट सुपर ८ मा पुगेको छ ।

आजको खेलमा नेपालले बंगलादेश १ सय ६ रनमा अल आउट गराएको थियो । १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै टेस्ट टोली बंगलादेशले नेपाललाई १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो । तर बलिङ शानदार गरे पनि नेपालको ब्याटिङ कमजोर नै रह्यो । फलस्वरुप नेपालले ८५ रन भन्दा बढाउन सकेन । योसँगै नेपालले जितविहीन हुँदै प्रतियोगिता समाप्त गरेको छ । १ सय ७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ८५ रनमा अलआउट भएपछि नेपाल जितविहीन बनेको हो । बंगलादेशले भने टी-ट्वेन्टी विश्वपकमा सबैभन्दा कम योगफल रक्षा गर्दै इतिहास रच्यो ।

अर्नोस भेल मैदान, किंग्सटाउन, सेन्ट भिन्सेन्टमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । बंगलादेशले निर्धारित २० ओभरमा ३ बल बाँकी रहँदै सबै विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो ।

नेपालका सोमपाल कामीले इनिङको पहिलो बलमै बंगलादेशी ओपनर तान्जित हसनलाई बाहिर पठाए । कप्तान नजमुल हुसेन शान्तो ४ रनमा दीपेन्द्रसिंह ऐरीका बलमा बोल्ड भए । १० रन बनाएका लिट्टन दासलाई सोमपालले पेबलियन फर्काए । तौहिद हि्रदोय ९ रनमा कप्तान रोहित पौडेलको सिकार भएपछि पावरप्लेमा बंगलादेश ३१ रनमा ४ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो ।

अनुभवी खेलाडी महमुदुल्लाह र शाकिब अल हसनको प्रदर्शन पनि निराशाजनक रह्यो । महमुदुल्लाहल ९ र शकिबले सर्वाधिक १७ रन बनाए । तन्जिम हसन साकिब सन्दीप लामिछानेको बलमा बोल्ड भए । जाकर अलीलाई बोल्ड गर्दै सन्दीपले ५४ इनिङमा १ सय टी-२० आई विकेट पूरा गरे । टी-२० क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट लिने बलरको सूचिमा सन्दीप दोस्रो स्थानमा छन् ।

अफगानिस्तानका राशिद खानले यो उपलब्धि ५३ खेलमा पूरा गरेका छन् । रिशाद हुसेन १३ र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए । तस्किन अहमद १२ रनमा अविजित रहे । यससँगै सन्दीप लामिछाने नेपालको लागि टी–ट्वेन्टी आईमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

नेपालका लागि सोमपाल, दीपेन्द्र, रोहित र सन्दीपले २-२ विकेट बाँडे । जवाफमा खराब ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा ८५ रन जोड्दा सबै विकेट गुमायो ।

ओपनर कुशल भुर्तेल ४ र अनिल साह शून्य रनमा आउट भए । दुवै नेपाली ब्याटरलाई तन्जिम हसन साकिबले एकै ओभरमा आउट गरे । कप्तान रोहित पनि १ रन बनाएर तन्जिमकै सिकार भए । असिफ शेख १७ रन बनाएर मुस्ताफिजुर रहमानको बलमा क्याच आउट भए ।

सन्दीप जोरा १ रनमा बाहिरिए । त्यसपछि दीपेन्द्र र कुशल मल्लले ५२ रनको साझेदारी गर्दै नेपाललाई जितको आशा दिलाएका थिए । कुशल २७ रनमा आउट भए । अन्तिम २ ओभरमा २२ रन चाहिएको अवस्थामा मुस्ताफिजुरले १ विकेटसहित मेडन ओभर फालेपछि नेपाल खेलमा फर्कन सकेन ।

१९ औं ओभरमा मुस्ताफिजुरले दीपेन्द्रविरुद्ध ५ बल डट राख्दै अन्तिम बलमा आउट गरे । दीपेन्द्रले २५ रन बनाएका थिए । अन्तिम ओभरको सुरुवाती २ बलमा सोमपाल र अभिनाश बोहोरा आउट भएपछि नेपाल २१ रनले पछि पर्यो ।

यससँगै सुपर एटमा प्रवेश गरेको बंगलादेशले टी-ट्वेन्टी विश्वकप इतिहासकै सबैभन्दा सानो योगफल रक्षा गर्यो । यसअघि यसै विश्वकपमा बंगलादेशविरुद्ध नै दक्षिण अफ्रिकाले १ सय १४ रन जोगाएको थियो । १० वर्षपछि विश्वकपमा पुगेको नेपाल जितविहीन हुँदै घर फर्किएको छ ।

सम्बन्धित समाचार...

१९.३ ओभरमा बंगलादेश अल आउट, नेपालले पायो १ सय ७ रनको लक्ष्य


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.