काठमाडौं । टी-ट्वेन्टी विश्वकपको तयारीमा रहेको नेपालले ह्युस्टन हरिकेन्सविरुद्धको दुई खेलको अभ्यास सिरिज क्लिन स्विप गरेको छ । दोस्रो अभ्यास खेलमा हरिकेन्सलाई २७ रनले पराजित गरेसँगै नेपालले सिरिज क्लिन स्विप गरेको हो । पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।
प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।
नेपालका लागी कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेलले २३ रन जोडे । गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२-१२ रनमा अविजित रहे । ह्युस्टनका इमरान शेख जुनियर र जिआ शाहजादले २-२ विकेट लिए ।
जवाफमा १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्स ९ बल बाँकी रहँदै ९६ रनमा अल आउट भयो । ह्युस्टनका जिआ शाहजादल सर्वाधिक ३५ रन बनाए ।
नेपालका लागि करण केसीले ३ विकेट तथा सोमपाल कामी र अभिनाश बोहराले समान २-२ विकेट लिए । अब नेपालले टी-ट्वेन्टी विश्वकपको आधिकारीक वार्मअफ खेलमा भोलि क्यानडा तथा बिहीबार अमेरिकाकासँग प्रतिस्पर्धा गर्ने छ ।