एसोसिएट राष्ट्र अमेरिकाले बंगलादेशविरुद्धको टी-ट्वेन्टी सिरिज जित्यो

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसोसिएट राष्ट्र अमेरिकाले बंगलादेशविरुद्धको टी-ट्वेन्टी सिरिज जित्यो

काठमाडौं । एसोसियट राष्ट्र अमेरिकाले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक टी-२० सिरिज जितेको छ ।

३ खेलको टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा बंगलादेशमाथि ६ रनको जित दर्ता गर्दै अमेरिकाले एक खेल अगावै सिरिज कब्जा गरेको हो । बंगलादेशलाई लगातार दोस्रो खेलमा स्तब्ध पार्दै अमेरिकाले ३ खेलको टी-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो । पहिलो खेलमा ५ विकेटले विजयी अमेरिकाले पहिलो पटक पूर्ण सदस्य टोलीविरुद्ध सिरिज जितेको हो ।

प्रेरी भ्यू क्रिकेट कम्प्लेक्स, ह्युस्टनमा बंगलादेशले टस जितेर सुरुवातमा फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर स्टेभन टेलरले ३१ रन जोडे । कप्तान मोनान्क पटेलले सर्वाधिक ४२ रनको योगदान दिए । एरन जोन्सले ३५ रन बनाए । बंगलादेशका शोरीफुल इस्लाम, मुस्तफिजुर रहमान र रिषाद हुसेनले समान २-२ विकेट लिए ।

जवाफमा १ सय ४५ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । बंगलादेशका कप्तान नजमुल होसेन सान्टोले ३६, सकिब अल हसनले ३० र तौहिद हृदोयले २५ रन बनाए पनि प्रयाप्त हुन सकेन ।

अमेरिकाका अलि खानले ३ विकेट लिए । दुई देशबीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । टी-२० विश्वकपमा बंगलादेश नेपाल सम्मिलित "समूह डी"मा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.