पारा तेक्वान्दोमा नेपाललाई ओलम्पिक पुर्‍याउने गुरु कविराज

चैत्र २२, २०८० |प्रदीप लेखी
पारा तेक्वान्दोमा नेपाललाई ओलम्पिक पुर्‍याउने गुरु कविराज

काठमाडौं । धेरैलाई थाहा थिएन, कविराज नेगी लामा को हुन् भनेर । तर, पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन पारा ओलम्पिकमा छनोट भएपछि अहिले उनी सबैको नजरमा पर्न थालेका छन् । आफू खेलाडी हुँदा देखेको सपना र हात पार्न नसकेको सफलता आफ्नो खेलाडीले पूरा गर्दा नेगी खुसी त छन् नै, पुरै नेपाली खेलकुदले नै गर्व गरिरहेको छ । स्वयंसेवक प्रशिक्षकबाट उनी अहिले सफल प्रशिक्षक बनेका छन् ।

निरन्तर मिहिनेत गरिरहे, सफलता आफैं पछि लाग्छ । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका हकमा पनि यही कुरा लागु हुन्छ । खेलाडीको प्रशिक्षणमा उनले निकै मिहिनेत गरे । कतिले बीचैमा प्रशिक्षण छाडे । कति प्रयास गर्दा पनि सफल भएनन् । यस्तैमा भेटिएकी थिइन् पलेशा गोवर्द्धन । पलेशामाथि उनले आफ्ना सपना खन्याए, मिहिनेत गरे । पलेसाले पनि उनको विश्वास डग्मगाउन दिइनन् । जसका कारण पलेशा फ्रान्समा हुने २०२४ को पारा ओलम्पिकमा छनोट हुन सफल भइन् जसले गुरु कविराज नेगी लामालाई पनि सफल प्रशिक्षकका रुपमा चिनायो ।

तर, कविराजको यहाासम्मको यात्रा निकै कठिन थियो । मकवानपुरको डााडाखर्कमा जन्मिएका उनले ४ वर्षकै हुँदा आमा गुमाए । त्यसपछि फुपुले काठमाडौं ल्याएर हुर्काइन् । हजुरबुवाले नेपाली सेनामा भर्ना गर्न विद्यालय तहदेखि नै तेक्वान्दो सिकाउन थाले । उनको सपना थियो ओलम्पिक खेल्ने । तर सानो कदकै कारण त्यो सपना पूरा हुन पाएन । त्यही सपना आज उनले प्रशिक्षक बनेर आफ्नो चेलीमार्फत् पूरा गरेका छन् ।

सन् २०१५ देखि पारा तेक्वान्दोको प्रशिक्षण सुरु गरेका कविराजले छैटौ डान प्राप्त गरिसकेका छन् भने पारा तेक्वान्दोको लेभल टुको कोर्षसमेत पुरा गरिसकेका छन् । उनको प्रशिक्षणमा अहिलेसम्म नेपालले ३ स्वर्ण २ रजत र ५ कास्य गरी कुल १० वटा अन्तर्राष्ट्रिय पदक पाइसकेको छ । तर अझै पनि स्वयंसेवक प्रशिक्षकको रुपमा काम गर्नुपर्दा उनी निकै दुःखी छन् ।

पारा तेक्वान्दो शारीरिक अपाङ्गता भएका ब्यक्ति अथवा फरक क्षमताको खेलाडीले खेल्ने तेक्वान्दो हो । त्यसैले यस्तो खेलको प्रशिक्षक बन्नु पनि एउटा ठूलो चुनौती हो । त्यसका वाबजुद उनले घरेलु प्रशिक्षणकै आधारमा तीन जनालाई ओलम्पिकका लागि एसिया छनोट खेलसम्म मात्र पुर्‍याएनन् पलेशालाई ओलम्पिक सम्म पुर्‍याउन सफल बने ।

कविराजले देखाएको निष्ठा र लगावका कारण पारा तेक्वान्दो खेलले देशलाई जसरी अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ, त्यसअनुरुप यी खेलका खेलाडी र प्रशिक्षकलाई राज्यले अझैसम्म पनि हेर्नसकेको छैन । 


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।