काठमाडौं । इन्डियन प्रिमियर लिग- आईपीएलमा रोयल च्यालेन्जर्स बैङ्लुरुले तेस्रो हार बेहोरेको छ । बैङ्लुरु गए राति सम्पन्न खेलमा घरेलु मैदानमै लखनऊ सुपर जायन्ट्ससँग २८ रनले पराजित भएको हो ।
चिन्नास्वामी स्टेडियममा बैङ्लुरुले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार पारेको थियो ।
उसका कप्तान तथा ओपनर केएल राहुल २० रन बनाएर बाहिरिए । मार्कस स्टोइनिसले २४ रन बनाउँदा निकोलास पुरनले २१ बलमा ४१ रनको विष्फोटक इनिङ खेले । अर्का ओपनर क्विन्टन डी ककले सर्वाधिक ८१ रनको योगदान दिए । बैङ्लुरुका ग्लेन म्याक्सवेलले २ विकेट लिए ।
जवाफमा १ सय ८२ रनको लक्ष्य पछ्याएको बैङ्लुरु दुई बल बाँकी रहँदै १ सय ५३ रनमा अलआउट भयो । उसका महिपाल लोम्रोरले सर्वाधिक ३३ रन बनाए । रजत पतिडरले २९, विराट कोहलीले २२ र कप्तान फ्याफ डु प्लेसिसले १९ रन बनाए । लखनऊका मयंक यादवले निकै किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन खर्च गरेर ३ विकेट लिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । नभिन उल-हकको नाममा २ विकेट रह्यो ।
यससँगै लखनऊ ३ खेलमा २ जितसहित ४ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित बैङ्लुरु ४ खेलमा २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स भिड्नेछन् ।