काठमाडौं । इन्टर मिलान ‘इटालियन सिरी ए’को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एम्पोलीमाथि दुई-शून्य गोलको जित हात पारेपछि शीर्ष स्थानको इन्टरले तालिकामा १५ अंकको अग्रता बनाएको हो ।
सान सिरो स्टेडियममा इन्टरले अग्रता लिन धेरै समय लगाएन । खेल सुरु भएको पाँचौं मिनेटमानै फेडेरिको डिमाक्रोले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा अलेजान्द्रो बास्टोनीले एम्पोली गोलकिपरको परीक्षण गरेका थिए ।
ब्रेकअघि एम्पोली पनि एक पटक सट अन टार्गेट राख्न सफल भयो । ५२ औं मिनेटमा इन्टरका निकलस बरेलाको प्रहार पोस्टनजिकैबाट बाहिरियो । लौटारौ मार्टिनेजले गोलका केही अवसरको सदुपयोग गर्न सकेनन् ।
८१ औं मिनेटमा एलेक्सिस सान्चेजको गोलसँगै इन्टरले तीन अंक बटुल्यो । पहिलो स्थानमा रहेको इन्टरको ३० खेलबाट ७९ अंक छ । दोस्रो स्थानमा रहेको सहरी प्रतिद्वन्द्वी एसी मिलानको ६५ अंक छ ।