काठमाडौं । आगामी शनिबारदेखि फागुन २८ गतेसम्म झापाको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने झापा गोल्डकपको छैंटौ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । मैदान घेराबाराको काम सकिएको छ भने दर्शक बस्ने प्यारापिट धमाधम निर्माण हुँदैछ ।
झापा गोल्डकप प्रतियोगिताको मुख्य आकर्षण भनेकै खेल मैदान र बाँसको प्यारापिट हो । मैदान मोफसलको सबैभन्दा उत्कृष्ट बन्ने गरेको छ । मैदान घेराबाराको काम सकिएको छ भने, प्यारापिट बनाउने काम धमाधम भइरहेको छ । प्यारापिट १० हजार दर्शक क्षमताको हुने आयोजकको भनाइ छ ।
प्रतियोगिता सञ्चालन खर्च १ करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ । आर्थिक गतिविधि शून्य प्रायः हुँदा समेत खर्च जुटाउन समस्या नरहेको आयोजकको भनाइ छ ।
आयोजकले सदस्यता, नवीकरण र प्रवेश शुल्कलाई मुख्य स्रोत मानेको छ । गत वर्ष गेट मनी अर्थात टिकटबाट ४० लाख रुपैया उठेको थियो । २१ हजार रुपैयाँको नयाँ सदस्य निर्माण र पुरानो पाँच सय सदस्यबाट नविकरण शुल्क ५ हजार दरले रकम संकलन गरिनेछ भने बाँकी नपुग रकमको लागि स्पोन्सर खोजिने छ ।
प्रतियोगितामा आयोजक, विभागीय टिम, ए डिभिजन र भारत गरी १० टिम सहभागी हुनेछन् । विजेताले नगद १३ लाख रुपैया र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछ ।