एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई वर्ष खेलाडी

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९
टेबल टेनिसकी सिक्कालाई लोकप्रिय अवार्ड
देव खनाल बने वर्षकै उत्कृष्ट युवा खेलाडी
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई वर्ष खेलाडी

काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपुरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भए ।

याक एण्ड यती होटेलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुषा मल्ललाई पछि पारिन् । दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।

दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए ।

टेबलटेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।

सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । उनलाई ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । उनलाई सूर्य नेपाल प्रालिका प्रतिनिधि विदुर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रालिका सिनियर डीसीईडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे । गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो ।

उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कास्य तथा जुनियरमा दुई रजत र एक कास्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे । युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू-१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले यूएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । उनलाई होटेल याक एन्ड यतीकी महाप्रबन्धक मोनिका साई ब्लावर र ई-ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुंखे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवं भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।

प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे । स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए । उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे । एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट हङकङका रेमन्ड चुलाई प्रदान गरिएको छ । उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अवार्ड प्रदान गरे ।

कुल ९ विधामध्ये एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सका तर्फबाट एक वर्षका लागि खेलकुद बिमा पाउनेछन् । २०औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ ।

स्पोर्ट्स अवार्डको सह-प्रायोजक र सहयोगीमा ई-सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटेल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपुर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटेल, प्लाजा होटेल ग्रुप, आईएसएस, ई-ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

यो पनि...

देव खनाल बने वर्षकै उत्कृष्ट युवा खेलाडी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.