काठमाडौं । नेपालमा महिला क्रिकेटका पर्याप्त प्रतियोगिता नै हुँदैनन् । प्रतियोगिता नै नभएपछि खेलाडीले खेल्न पाउने कुरै भएन । दुई वा तीन खेल खेलेर वर्ष बिताउनु पर्छ । दुई दशकभन्दा लामो महिला क्रिकेटको इतिहासमा पहिलो पटक राउन्ड रोबिन शैलीमा प्रतियोगिता भयो ।
सबै टिमले कम्तीमा सात खेल खेल्दा खेलाडीको प्रदर्शन निखारिँदै आएको छ । फाइनल खेल अघिसम्म १३ खेलाडीले १५ अर्धशतक प्रहार गरेका छन् । जुन एकै संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा अहिलेसम्मकै उच्च हो ।
महिलाका प्रतियोगितामा २-३ मात्र खेल हुँदा नयाँ र युवा खेलाडीले खेलमा अवसर पाउँदैनथे । सुरु हुनासाथ सकिने प्रतियोगिताले न खेलको विकास हुन्थ्यो न खेलाडीले अनुभव बटुल्न पाउँथे । तर यो वर्षको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा यस्ता केही कुरामा सुधार भएका छन् । हरेक टिमको सात खेल हुँदा सुरुआती खेलमा प्रदर्शन गर्न नसकेका र अवसर नपाएका खेलाडीले पनि मौका पाए । अहिलेसम्म पाँच खेलाडीले दुई सय भन्दा धेरै रन बनाएका छन् ।
काठमाडौंबाहिर राम्रा मैदान नै छैनन् । अव्यवस्थित, चरन क्षेत्र र घाँसे मैदानमा हुने प्रतियोगितामा चोटकै भय हुन्थ्यो । जसले प्रदर्शन कमजोर बनाउँथ्यो । यस वर्ष त्रिवि र मूलपानीमा प्रधानमन्त्री कप हुँदा खेलाडीको प्रदर्शनमा सुधार भएको छ । साक्षी यादव, शर्मिला रोक्का, यमुना थारु, हेलिशा गुरुङ, अञ्जली विश्वकर्माजस्ता नयाँ खेलाडीले यो वर्ष पहिचान पाएका छन् ।
तर, अझैसम्म पनि महिला क्रिकेटको क्यालेन्डर बनेको छैन, जसका कारण खेलाडीले प्रतियोगिता कहिले होला भनेर कुरेर बस्नुपर्ने अवस्था छ ।
राउन्ड रोबिनमा प्रतियोगिता सञ्चालन गर्दा सञ्चालन गर्दा खेलाडीले केही बढी अवसर पाए । तर, प्रदेश र जिल्लाले जिम्मेवारी लिन नसक्दा ग्रासरुट क्रिकेटका कार्यक्रम कमजोर नै छन् । खेलाडीको प्रदर्शनमा निखार ल्याउन उनीहरूले खेल्नै पर्छ र खेल कौशल सिकाउनुपर्छ । त्यसका लागि प्रतियोगिता र प्रशिक्षण बढाउन आवश्यक छ ।