यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा

कार्तिक १७, २०८० |कान्तिपुर टीभी संवाददाता
यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । यससँगै वेस्टइन्डिज र अमेरिकाले २०२४ मा संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा नेपाल छनोट भएको छ ।

टस जित्दै पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । 

नेपाललाई जिताउन ओपनर मोहम्मद आसिफले ५१ बलमा ६५ रन हिर्काए । कप्तान रोहित पौडेलले २० बलमा ३३ रनको नटआउट पारि खेले ।

नेपालका गुलसन झाले २२ रनको पारि खेल्दा कुशल भुर्तेलले ११ रन बनाए ।

युएईका निलसन केसवानी र बसिल अहमदले एक-एक विकेट लिए ।

त्यसअघि यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।

यूएईले ३ ओभरमा २९ रन बनाएका बेला नेपालका सोमपाल कामीले खालिद साहलाई आउट गर्दै यूएईको पहिलो विकेट लिएका थिए । सोही ओभरको चौथो बलमा पुन: सोमपालले कप्तान मोहमद वसिमलाई करण केसीमार्फत आउट गराए ।

१० विकेटले बहराइनलाई पराजित गर्दै ओमान पनि विश्वकपमा

वसिमले १६ बलमा २६ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । तेस्रो सफलता सन्दीप लामिछानेले आसिफ खानलाई एलबीडब्ल्यू आउट गरे । आसिफले १४ बलमा १३ रन बनाए ।

१३ ओभरको चौथो बलमा कुशल मल्लले एसिलसन सराफुलाई सोमपालबाट क्याच आउट गराएर पभेलियन फर्काए । यस्तै कप्तान रोहित पौडेलले अली नासेरलाई कुशल भुर्तेलको उत्कृष्ट क्याचको मद्दतले आउट गरे । नासेर ४ रन बनाएर पभेलियन फर्किए ।

सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई बसिल अहमदलाई आउट गर्दै छैटौं सफलता दिलाए । बसिलले १ रनमै चित्त बुझाए । यूएईका लागि २ छक्का र ८ चौकाको मद्दतले ६४ रनको पारि खेलेका वृत्य अरविन्दलाई सातौं विकेटका रुपमा कुशल मल्लले गुल्सन झामार्फत क्याच गराउँदै पभेलियनको बाटो देखाए । अरविन्दले ५१ बलको सामना गरे । यस्तै कुशलले नै १९.३ ओभरमा आयान अफजल खानलाई क्याच आउट गराउँदै नेपाललाई आठौं सफलता दिलाए । अफजलको खातामा १ रन मात्रै चढ्यो ।

नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिएर २ विकेट लिए । सोमपालले ३ ओभर बलिङ गर्दा १५ रन दिएर १ विकेट लिए । कुशल मल्लले ३ ओभर बलिङ गरेर १० रन खर्चिंदै ३ विकेट हात पारे । रोहित पौडेलले १ ओभरमा ६ रन दिएर १ विकेट हात पारे । अभिनाश बोहोराले ३ ओभरमा ३६ रन दिएर विकेटविहीन बन्दा करण केसीले ३ ओभरमा २६ रन खर्चिए । यस्तै गुल्सन झाले ३ ओभरमा २४ रन दिएका थिए ।

सम्बन्धित समाचार...

मुलपानीमा देखिएको ‘क्रिकेट क्रेज’ (फोटो फिचर)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.