सानदार सुरुवात गरेको नेपालको बलियो आत्मविश्वास

कार्तिक १३, २०८० |कान्तिपुर टीभी संवाददाता
सानदार सुरुवात गरेको नेपालको बलियो आत्मविश्वास

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो दिनको खेलमै सानदार जित दर्ता गरेसँगै नेपालले सेमिफाइनल यात्रा केही छोटो बनाएको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भए पनि नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदा कुशल भुर्तेल नायक रहे ।

सन् २०१९ को विश्वकप छनोटमा नेपालका लागि सिंगापुर नै बाधक थियो। सिंगापुरसँग ८२ रनले हारेकै कारण नेपाल बाहिरिनु परेको हो। त्यसको चार वर्षपछि नेपालले विश्वकप छनोटमा फेरि सिंगापुरसँग प्रतिस्पर्धा गर्ने अवसर पायो। कीर्तिपुरस्थित टीयू मैदानमा सिंगापुरले नेपाललाई एक सय ४६ रनको लक्ष्य दिएको थियो। नेपाली टिमका अभिनाश बोहरा, करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले सानदार बलिङ गरेपछि सिंगापुरले मध्यम लक्ष्य दियो ।

जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले आसिफसँग झण्डै डेढ वर्षपछि ८४ रनको अर्धशतकीय साझेदारी गरे। उनले रोहितसँग ५७ रन बनाएपछि नेपालले सहज जित दर्ता गरेको हो। सिंगापुरले भने मध्यक्रममा राम्रो प्रदर्शन गर्न सकेन ।

नेपालमा नै आयोजना भएको त्रिकोणात्मक सिरिजमा सबैभन्दा उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। त्यसपछि नेपाललाई शीर्षक्रमबाटै ब्याटिङमा दबाब थियो। महत्वपूर्ण जिम्मेवारीसहित मैदान प्रवेश गरेका कुशल भुर्तेलले आसिफसँग ८४ तथा कप्तान रोहितसँग ५६ रनको साझेदारी गरे । लक्ष्यमा पुग्न पाँच रन मात्र बाँकी रहँदा उनी क्याचआउट भए।

युवा बलरका रुपमा राष्ट्रिय टिममा देखिएका गुल्सन झाले पछिल्लो समय ब्याटिङमा पनि राम्रो योगदान दिँदै आएका छन्। उनले पूरा ओभर बलिङ नपाए पनि आज दुई विकेट लिए । उनको विकेटले नै मध्यक्रममा सिंगापुरलाई हतोत्साही बनाएको थियो।

छनोटअन्तर्गत नेपालले मंगलबार मलेसियासँग खेल्ने छ। मलेसियालाई पराजित गरे नेपालको सेमिफाइनल सम्भावना लगभग पक्का हुनेछ। नेपालकै समूहमा रहेको अर्को खेलमा ओमनले पहिलो खेलमा मलेसियालाई हराएको छ। यससँगै ओमन र नेपालको समान दुई-दुई अंक छ। त्यसैले आज पराजित मलेसिया मंगलबार जितको लक्ष्यमा हुनेछ। त्यसैले पनि नेपालले यो खेललाई महत्वपूर्ण रुपमा लिएको छ।

घरेलु मैदानमा भइरहेको प्रतियोगिताबाट नेपाली समर्थकमाझ राष्ट्रिय क्रिकेट टिम विश्वकपमा छनोट हुने योजनामा छ। छनोट हुनेमा खेलाडी पनि विश्वस्त छन् । तर त्यसका लागि नेपालले समूहको ओमन र सेमिफाइनलमा सर्तकतापूर्वक खेल्नु पर्नेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.