पीएसजी छाड्दै सर्जियो रामोस

जेष्ठ २०, २०८०
पीएसजी छाड्दै सर्जियो रामोस

काठमाडौं । डिफेन्डर सर्जियो रामोसले सिजनको अन्त्यसँगै फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को बसाइ टुंग्याउने भएका छन् ।

पीएसजीले लिगको अन्तिम खेलमा आज राति क्लेमन्ठ फुटसँग प्रतिस्पर्धा गर्दै छ । ३७ वर्षीय स्पेनिस रामोसले ट्विटरमार्फत यो खेल आफ्नो अन्तिम हुने जानकारी दिएका हुन् । यो साता पीएसजीबाट बाहिरिने रामोस दोस्रो हाई प्रोफाइल खेलाडी हुन् ।

यसअघि लियोनल मेसीले पीएसजी छाड्ने पक्का भएको थियो । रामोसले पीएसजीका लागि ५७ खेल खेल्दै दुई लिग उपाधि र एक फ्रेन्च कप उपाधि जिते । उनी सन् २०२१ मा रियाल मड्रिडबाट पीएसजी गएका थिए ।

उनले रियालमा १६ वर्ष बिताए । पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले रामोसले क्लबमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका छन् । स्पेनबाट विश्वकप र दुईपटक युरोकप जितेका रामोस अहिलेसम्म राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने खेलाडी हुन् ।