अमेरिका र इजरायल यू-२० विश्वकपको क्वाटरफाइलनमा

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
अमेरिका र इजरायल यू-२० विश्वकपको क्वाटरफाइलनमा

काठमाडौं । अमेरिका र इजरालय फिफा यू-२० विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अर्जेन्टिनामा आज बिहान सम्पन्न राउन्ड अफ सिक्सटिनको खेलमा अमेरिकाले न्युजिल्यान्डमाथि ४ - ० गोलको फराकिलो जित हात पार्दै अन्तिम ८ मा पुगेको हो ।

सुरुवात देखिनै न्युजिल्यान्डमाथि दबाब बनाएको अमेरिकाले १४ मिनेटमै अग्रता लिएको थियो । उसका लागि ओवेन उल्फले गोल गरे । तीन गोल भने दोस्रो हाफमा भएको हो । ६१ औँ मिनेटमा केड कोवेलले अग्रता दोब्बर बनाए । २ - ० ले पछि परेको न्युजिल्यान्ड खेलमा फर्कन नसक्दा अमेरिका पूर्ण रुपमा हाबी भयो ।

७५ औँ मिनेटमा जस्टिन चेले टिमका लागि तेस्रो गोल थपे । ८२ औँ मिनेटमा रोकास पुक्सटासले गोल गरेपछि प्रभावशाली जितका साथ अमेरिका अन्तिम आठमा स्थान बनाउन सफल भयो । जारी प्रतियोगितामा क्वाटरफाइनल पुग्ने अमेरिका पहिलो टोली हो ।

यस्तै इजरायलले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । बुधबार बिहान भएको खेलमा इजरायलले उज्बेकिस्तानमाथि १ - ० गोलको रोमाञ्चक जित हात पारेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९० मिनेटसम्म पनि दुवै टिमले डेड लक तोड्न सकेनन् । खेल अतिरिक्ति समयमा धकेलिने संकेत गर्दा इजरायलले अग्रता बनायो । इन्जुरी समयको अन्त्यतिर मक्काबी हाइफाका १८ वर्षीय फरवार्ड अनान खलालीले गोल गरे । सोही गोल इजरायललाई अन्तिम आठमा प्रवेश गर्न निर्णायक बन्दा एसियन च्याम्पियन उज्बेकिस्तान निराश हुँदै घर फर्कियो । आज राति हुने अन्य प्रि-क्वाटरफाइनल खेलमा कोलम्बिया र स्लोभाकिया, ब्राजिल र ट्युनिसिया आमनेसामने हुनेछन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.