किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि खेल्ने

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि खेल्ने

काठमाडौं । नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो । दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचौं स्थानका लागि तय भएको हो । प्लेअफअन्तर्गत बिहीबार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३-० को सहज जित दर्ता गरेको हो । किर्गिस्तानले माल्दिभ्सलाई २५-२०, २५-२० र २५-१५ ले हराएको हो । पाँचौं स्थानका लागि शनिबार खेल हुनेछ ।

प्रतियोगिताअन्तर्गत बिहीबारै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३-० को सेटमा जित निकाल्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५-१६, २५-१५ र २५-७ को सहज जित निकालेको हो । यससँगै छैटौं र सातौं स्थानका लागि प्रतिस्पर्धा गर्ने टोलीको पनि टुंगो लागेको छ । यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत शुक्रबारै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । त्यस्त नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल शुक्रबार साँझ ५ बजे हुनेछ । दुवै सेमिफाइनल विजेताका बीचमा आइतबार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.