सहिद स्मारक ए डिभिजन लिग : पाँचौं खेलबाट आर्मीको दोस्रो जित, नेपाल पुलिसको पहिलो अंक

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : पाँचौं खेलबाट आर्मीको दोस्रो जित, नेपाल पुलिसको पहिलो अंक

काठमाडौं । दीपक गुरुङले इन्जुरी समयमा गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं खेलबाट दोस्रो जित निकाल्दा अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले पहिलो अंक जोडेको छ ।

फुटबलमा अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबबिरुद्ध पुनरागमन २-१ को जित निकाल्न सफल भएको हो । च्यासल मैदानमा शनिबार भएको खेलको छैटौं मिनेटमा फ्रेन्ड्सका टोरिक जिब्रिनले उपलब्ध गराएको पासलाई रफिक अमिनुले सदुपयोग गर्दै ललितपुरे टोलीलाई अग्रता दिलाएका थिए । अग्रता लिएसँगै रक्षात्मक देखिएको फ्रेन्ड्सविरुद्ध आर्मीले २४औं मिनेटमा बराबरी गोल फर्कायो । दीपक गुरुङले उपलब्ध गराएको बललाई जिलेस्पीजँग कार्कीले हेडरमार्फत जाली चुमाउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा आर्मीले आक्रामक रणनीतिलाई निरन्तरता दियो । सो क्रममा केही सुनौला अवसर सिर्जना भए पनि आर्मीको अग्रपंक्तिले सदुपयोग गर्न असफल बन्यो । तर इन्जुरी सयममा दीपक गुरुङले गोल गर्दै आर्मीको जित निश्चित गरेका हुन् । पेनाल्टी बक्सभित्र बारम्बार प्रयास किलियर हुन नसकेको बललाई दीपकले जाली चुमाउन सफल भएको थियो ।

दोस्रो हाफमा आक्रामक देखिएको आर्मीका लागि ७४औं मिनेटमा दिनेश हेन्जनले प्रहार गरेको फ्रिकिकमा दीपकको हेडरबललाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे । लगत्तै फ्रेन्ड्सले काउन्टरको प्रयास गरे पनि असफल भयो । इन्जुरी समयमा फ्रेन्ड्सका जिब्रिनको प्रहारलाई गोलकिपर विकेश कुथूले बचाए ।

यसअघि संकटा र एनआरटीसँग बराबरी खेलेको आर्मीले साबिक विजेता मच्छिन्द्रलाई पराजित गर्दा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग हार व्यहोरेको थियो ।

यसैगरी सातादोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो । यस जितसँगै आर्मीले पाँच खेलबाट आठ अंक बनाएको छ भने अन्तिम समयमा सम्हालिन असफल फ्रेन्ड्सको पनि समान खेलबाट ४ अंक भएको छ ।

लिग अन्तर्गत शनिबार भएको अर्को खेलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी) सँग १-१ गोलको बराबरी खेल्दै जारी लिगमा पहिलो अंक जोड्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो । यस अघि पुलिसले लगातार चार खेलमा हार व्यहोरेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले आक्रामक रणनीति बुन्दै खेलेका थिए । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको पनि गोल भने हुन सकेनन् । दोस्रो हाफमा एनआरटीले सुरुवाती अग्रता लियो ।

६४औं मिनेटमा वैकल्पिक खेलाडी छिरेका सञ्जीव विष्टले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र एनआरटी र पुलिसका डिफेन्डरबीचबाट निस्किएको बललाई पुलिसका गोलकिपर सन्जित श्रेष्ठले किलियर गर्न चुक्दा सन्जीवले पोस्टको जाली चुमाए ।

तर, ७५औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई खेलमा फर्काए । प्रतापले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । त्यसबाहेक दुवै टोलीले गोलका लागि प्रयास गरे पनि असफल हुँदै अंक बाँडे । यस बराबरीपछि पुलिसले लिग तालिकामा १ अंकको खाता खोलेको छ भने एनआरटी ५ खेलमा २ अंक बनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement