ए डिभिजन क्लबले अब विदेशी ५ खेलाडी राख्न पाउने

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
ए डिभिजन क्लबले अब विदेशी ५ खेलाडी राख्न पाउने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अबदेखि विदेशी पाँच खेलाडी राख्न पाउने भएका छन् ।

यसका लागि आज (बुधबार) अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबबीच छलफल भएको छ । छलफलमा एकजना विदेशी खेलाडीको कोटा थप्ने सहमति भएको छ । यसअघि ए डिभिजन क्लबमा चारजना विदेशी खेलाडी राख्न पाउने नियम थियो । योसँगै अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गरी खेलाउन सक्नेछन् ।

छलफल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको हो । स्वदेशी खेलाडीको अभाव भएको भन्दै क्लबले एन्फासँग विदेशी खेलाडीको कोटा बढाउन प्रस्ताव गरेका थिए । एन्फा महासचिव किरण राईले विदेशी खेलाडीको एउटा कोटा थप गर्ने निर्णय भएको तर, खेलाडी दक्षिण एसियाली देशबाट हु्नुपर्ने जानकारी दिए ।

अब हरेक टिमले पाँच विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् भने चार खेलाडी मैदान उतार्न पाउनेछन् । फागुन १९ देखि सहिद स्मारक ए डिभिजन लिग हु्ँदै छ । घरेलु फुटबल नियमित नहुँदा ४० भन्दा बढी खेलाडी पलायन भइसकेका छन् ।

अनुभवी खेलाडी पलायन हुँदा क्लबहरुले विदेशी खेलाडीको कोटा थपेर, स्थानीय तथा कम अनुभवी खेलाडी अनुबन्ध गर्दै लिग खेल्ने तयारी गरेका छन् । एन्फाको पछिल्लो निर्णयअनुसार अब लिगमा ७० विदेशी खेलाडी अनुबन्ध हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.