भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा

ढाका । भारतलाई हराउँदै नेपाल अन्डर ट्वेन्टी महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशको ढाकास्थित सहिद मुस्तफा कमल स्टेडियममा नेपालले पुनरागमन जित निकालेको हो । सुमती कुमारीको क्रसमा अपूर्वा नार्जरीले गोल गरेपछि नेपाल २१ औं मिनेटमा पछि परेको थियो । पहिलो हाफमा प्राप्त केही अवसर गुमाएको नेपालले दोस्रो हाफमा भने शानदार पुनरागमन गर्यो ।

४८ औं मिनेटमा अन्जली चन्दको गोलमार्फत नेपाल खेलामा फर्कियो । डिफेन्डर शुभाङ्‍गी सिंहले दिएको सटपास भारतीय गोलरक्षक आन्सिकाले सहजै क्लियर गर्न सकिनन् । अमिसा कार्कीले डिबक्सभित्रै पुगेर आन्सिकाबाट बल खोस्दै अन्जलीलाई पास उपलब्ध गराएकी थिइन् ।

कप्तान प्रिती राईको पेनाल्टी गोलसँग ६९ औं मिनेटमा नेपालले अग्रता बनायो । भारतीय डिफेन्डरले अन्जलीलाई डिबक्समा फल हानेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । ८९ औं मिनेटमा अमिशा कार्कीले नेपालका लागि तेस्रो गोल गरिन् । तीन डिफेन्डरलाई बिट गर्दै कप्तान प्रितीले डीबक्स भित्रबाट अमिसाका लागि पास उपलब्ध गराएकी थिइन् ।

अमिसाको प्रतियोगितामा यो चौथो गोल हो । उनले भुटानविरुद्ध ह्याट्रिक गरेकी थिइन् । लिग चरणका दुई खेलमा जित निकालेको नेपालको ६ अंक भएको छ । योसँगै नेपाल कम्तीमा दोस्रो स्थानमा रहँदै फाइनल पुग्ने पक्का भयो । आजै हुने दोस्रो खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्नेछ । उक्त खेलमा भुटान विजयी भए नेपाल शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल पुग्नेछन् ।

बंगलादेश विजयी भए नेपाल दोस्रो र बंगलादेश शीर्ष स्थानमा रहँदै फाइनल पुग्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.