राष्ट्रिय महिला राष्ट्रिय भलिबल : न्यु डायमन्ड बन्यो च्याम्पियन

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय महिला राष्ट्रिय भलिबल : न्यु डायमन्ड बन्यो च्याम्पियन

काठमाडौं । विभागीय टोली एपीएफ क्लबमाथि ३-२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमन्ड छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले लगातार पाँच संस्करणको च्याम्पियन एपीएफलाई पराजित गर्दै पहिलोपल्ट च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा पहिलोपटक पुगेसँगै न्यु डायमन्ड च्याम्पियन भएको हो । यसअघि पहिलोदेखि चौथोसम्म एपीएफ र नेपाल पुलिसबीच फाइनल खेल भएको थियो भने पाँचौं संस्करणमा एपीएफ र त्रिभुवन आर्मीबीच फाइनल खेल भएको थियो ।

प्रतिस्पर्धात्मक भएको खेलमा एपीएफविरुद्ध पहिलो सेट २८-२६ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने डायमन्डले २१-२५ ले गुमाउन पुग्यो । तेस्रो सेटमा पुन: सम्हालिएको प्रदर्शन गरेको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै २-१ को सेटमा अग्रता लिन सफल भएको थियो । तेस्रो सेटमा एक समय १६-६ को अवस्था हुँदा न्यु डायमन्डले लगातार १० अंक गुमाउन पुगेको थियो ।

तर अन्तिममा २५-२२ ले विजयी हुन सफल भएको थियो । चौथो सेटमा भने न्यु डायमन्डले सम्हालिएको प्रदर्शन गर्न सकेन । सुरुवातदेखि नै पछि परेको डायमन्डले २४-२६ ले गुमाउन पुग्यो थियो । सोही सेटमा २०-२१ को अवस्थामा एपीएफकी स्पाइकर निरुता ठगुन्ना चोटग्रस्त हुँदै कोर्ट छोड्नुपरेको थियो । त्यसपछि निर्णायक तथा पाँचौं सेटमा पुगेको खेलमा ३-३ को बराबरीपछि अग्रता लिँदै डायमन्डले १५-९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । फाइनल खेलमा प्रगति नाथले प्लेयर अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

चार टोलीबीच भएको प्रतिस्पर्धाबाट च्याम्पियन बनेसँगै डायमन्डले तीन लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो । उपविजेता एपीएफले एक लाख ५० हजार रुपैयाँ हात पार्दा तेस्रो स्थानका लागि मंगलबारै भएको प्रतिस्पर्धामा आर्मीलाई पराजित गरेको पुलिसले ७५ हजार रुपैयाँ हात पार्‍यो ।

शेरबहादुर प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन न्यु डायमन्डकी स्पाइकर प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद ५० हजार रुपैयाँसहित आकर्षक पुरस्कार प्राप्त गरिन् । यस्तै डायमन्डकी स्पाइकर सलिना बुढा मगर इमर्जिङ खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गर्दा डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक बने । एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुँनिदा एपीएफकी सरस्वती चौधरी सर्भर र हीरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । उनीहरुले समान १५/१५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.