ड्रेसिङ रुममा एकता कायम गर्नु मेरो पहिलो लक्ष्य : प्रशिक्षक देसाई

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
ड्रेसिङ रुममा एकता कायम गर्नु मेरो पहिलो लक्ष्य : प्रशिक्षक देसाई

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देसाईले खेलाडीका बीचमा देखिएको दूरीप्रति संकेत गर्दै ड्रेसिङ रुममा एकता कायम गर्नु आफ्नो पहिलो लक्ष्य भएको स्पष्ट पारेका छन् ।

नेपाल आएको १० दिनपछि क्यानले सोमबार देसाइलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । आफ्नो पहिलो पत्रकार सम्मेलनमा देसाईले टिम निर्माणमा मुख्य जोड दिए । नेपाली क्रिकेटसँग आफू परिचित रहेको जनाउ दिँदै उनले बाहिरी समस्याको असर टिममा पर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदले देसाईको नियुक्तिका लागि क्यानलाई हिजोमात्रै स्वीकृति दिए पनि उनी नेपाल आएदेखि नै प्रशिक्षणमा सहभागी थिए । क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने खेलकुद मन्त्रालयका कारण प्रशिक्षक नियुक्तिमा ढिला भएको दाबी गरे ।

जबरजस्ती करणीका आरोपी सन्दीप लामिछानेलाई टिममा सहभागी गराएको विषयमा बोल्न नचाहेका मोन्टीले तत्कालका लागि सन्दीप खेलाडीका रुपमा टिममा रहेको जवाफ दिए । ‘अभ्यासको पहिलो दिनदेखि नै सन्दीपको प्रदर्शन राम्रो छ । र, उनले प्रक्रियालाई पछ्याइरहेका छन् । सन्दीप पक्कै पनि टिममा छन्,’ नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाईले भने ।

देसाई र क्यानबीच दुई वर्षका लागि सम्झौता भएको छ । क्यानडापछि देसाईले राष्ट्रिय टिम सम्हालेको यो दोस्रो पटक हो । उनी सामु नेपालको ओडिआई जोगाउनु मुख्य चुनौती छ । यसअघि ब्याटिङ कन्सलट्यान्टका रुपमा नेपाली टिमसँग काम गरिसकेका मोन्टीको पहिलो परीक्षा विश्व क्रिकेट लिग टु सिरिज हुनेछ । नेपालले घरेलु मैदानमा आगामी फागुन २ गतेदेखि नामिबिया र स्कटल्यान्डसँग खेल्दै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.