केनको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीमाथि टोटेनहमको जित

माघ २३, २०७९
केनको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीमाथि टोटेनहमको जित

लन्डन । ह्यारी केनको कीर्तिमानी प्रदर्शनमा टोटेनहमले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । उपाधि होडमा रहेको सिटीको लिगमा यो चौथो हार हो ।

घरेलु स्टेडियममा १० खेलाडीमा सीमित टोटेनहम १–० ले विजयी भयो । घरेलु टोलीलाई जिताउन ह्यारी केनले निर्णायक तथा कीर्तिमानी गोल गरे ।

खेलको १५ औँ मिनेटमा पियर मिएल हुइवर्गको पासमा डि-बक्स भित्रबाट केनले उत्कृष्ट फिनिस गरेका थिए । यो गोलसँगै केन टोटेनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको यो २ सय ६७ औँ गोल हो । केनले पूर्व खेलाडी जिम्मी ग्रेभ्सको कीर्तिमान तोडेका हुन् । २९ वर्षीय केनले १५ डिसेम्बर २०११ मा टोटेनहमका लागि डेब्यु गोल गरेका थिए ।

केन प्रियिमर लिगमा सर्वाधिक गोल गर्ने तेस्रो खेलाडीसमेत हुन् । उनी एलन सियर र वाइने रुनीभन्दा पछि छन् । सियरले २ सय ६० र रुनीले २ सय ८ गोल गरेका छन् ।

अघिल्लो खेलमा फुलहमविरुद्धको जितमा पनि निर्णायक गोल गरेका केनले टिमको गोल संख्या २ सय ६६ बनाएका थिए ।

सन् १९६१ देखि १९७० सम्ममा जिम्मी ग्रेभ्सले यो कीर्तिमान राखेका थिए । केनले ५३ वर्ष पछि कीर्तिमान तोडेका हुन् ।

जितसँगै टोटेनहमको च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै छ । उसको २२ खेलमा ३९ अंक छ भने पाचौँ स्थानमा यथावत छ ।

पराजित सिटी भने शीर्ष स्थानको आर्सनलभन्दा ५ अंकले पछि परेको छ । सिटीको २१ खेलमा ४५ अंक छ । एक खेल कम खेलेको आर्सनल ५० अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै गएराति नै भएको लिगको अर्को खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १-० ले पराजित गरेको छ ।