मिलान डर्बीमा इन्टर विजयी

माघ २३, २०७९
मिलान डर्बीमा इन्टर विजयी

मिलान । इटालियन ‘सिरी ए’ मा इन्टर मिलानले १ - ० ले मिलान डर्बी जितेको छ । इन्टरको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरे ।

सानसिरोमा खेलको पाचौँ मिनेटमै मिखिटारियानको पासमा मार्टिनेजले बक्स बाहिरबाट गरेको प्रहार गोलरक्षक सिप्रियान तरुसनुले गोल हुनबाट बचाएका थिए ।

१० औँ मिनेटमा मार्टिनेजको हेडर पनि गोल हुन सकेन । २५ औँ मिनेटमा डिमार्कोको कर्नर गोलरक्षक सिप्रियानले क्लियर गरेका थिए । ३४ औँ मिनेटमा भने मार्टिनेजले हेडर गोल गर्दै अग्रता दिलाए । उनले हाकान चालहानोलुले प्रहार गरेको कर्नर बलको सदुपयोग गरेका हुन् ।

इन्टरले सुरुवाती ३ अवसर सिर्जना गर्दा एसी मिलानले भने गोलको कुनै अवसर बनाउन सकेको थिएन । दोस्रो हाफमा पनि मार्टिनेले गोलका दुई अवसर भने खेर फालेका थिए ।

८९ औँ मिनेटमा परिवर्तित खेलाडी रामेलु लुकाकुको पासमा मार्टिनेजले गोल गरेका थिए । तर भिएआरले अफसाइड घोषणा गरेको थियो । जितसँगै इन्टरले दोस्रो स्थानमा ३ अंकको अग्रता बनाएको छ । इन्टरको २१ खेलमा ४३ अंक छ । इन्टर शीर्ष स्थानको नापोलीभन्दा १३ अंकले पछि छ ।

तेस्रो स्थानको रोमाको समान खेलमा ४० अंक छ । शीर्ष चारको दौडमा रहेको एसी मिलानको भने समान खेलमा ३८ अंक छ । साविक विजेता मिलान तालिकाको छैटौं स्थानमा छ ।

सिरी एकै अर्को खेलमा बोलोनियाले फ्योरेन्टिनलाई २–१ ले पराजित गर्‍यो । लिग लिडर नापोलीले स्पाजियोमाथि ३–० को सहज जित निकालेको थियो ।