सेभियालाई पराजित गर्दै बार्सिलोना बनायो ८ अंकको अग्रता

माघ २३, २०७९
सेभियालाई पराजित गर्दै बार्सिलोना बनायो ८ अंकको अग्रता

क्याम्प नोउ । शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियालाई ३–० ले परापजित गरेको छ । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी बढाएको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले एकपक्षीय खेल प्रदर्शन गर्‍यो । पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेका थिएनन् । ५८ औँ मिनेटमा जोर्डी अल्बाको गोलबाट बार्साले खाता खोल्यो । फ्रान्क केसिएको पासमा डिबक्स भित्र अनमार्क रहेका अल्बाले उत्कृष्ट फिनिसङ गरेका हुन् ।

७० औँ मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर बनाए । गाभीलाई ब्राजिलियन विंगर राफिन्हाले पास उपलब्ध गराएका हुन् । ७९ औँ मिनेटमा बार्सिलोनाले तेस्रो गोल थप्यो । तेस्रो गोल राफिन्हाले गरे भने उनलाई जोर्डी अल्बाले पास उपलब्ध गराए ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी ८ बनाएको छ । बार्सिलोनाको २० खेलमा ५३ अंक छ । दोस्रो स्थानको रियालको समान खेलमा ४५ अंक छ ।

गएराति रियालले भने मियोर्कासँग १–० को अप्रत्यासित हार सामना गर्‍यो । खेलको १३ औँ मिनेटमा घरेलु टोली मियोर्काले अग्रता बनाएको थियो ।

भेदाट मरिकीको क्रस क्लियर गर्ने क्रममा नाचो फर्नान्डेजको हेडर आफ्नै पोस्टमा गोल भएको हो । त्यसपछि रियालले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । उसले दोस्रो हाफमा दुई अवसर खेर फाल्यो । स्पेनिस महारथी रियाल सन् २०१९ पछि पहिलो पटक मियोर्कासँग पराजित भएको हो ।