भ्यालेन्सियामाथि रियलको सहज जित

माघ २०, २०७९
भ्यालेन्सियामाथि रियलको सहज जित

काठमाडौं । स्पेनिस लिग ला लिगामा साविक विजेता रियल मड्रिडले भ्यालेन्सीयालाई २–० गोलले हराएको छ । यो जितपछि रियलले शिर्ष स्थानको बार्सीलोनासँगको दूरी ५ अंकमा झारेको छ ।

सान्तियागो बर्नावेउमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका हुन् । ५२ औं मिनेटमा मार्को असेन्सीयोले गोल गरेर रियालको खाता खोलेका थिए । रियालबाट आफ्नो २ सयौं खेल पूरा गरेका भिनिसियस जुनिएरले ५४ औं मिनेटपछि अर्को गोल गरी रियलको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा पाहुना टोली भ्यालेन्सीया १० खेलाडीमा झर्यो । गाब्रियल पाउलिस्टाले भिनिसियसमाथि फउल गरेपछि रातो कार्ड पाएर मैदान बाहिरिए ।

पहिलो हाफमा लुका मोड्रिचको क्रसमा एन्टोनियो रुडिगरले गोल गरेका थिए । तर त्यसलाई भिडियो रेफ्री भारले मान्यता दिएनन् । यो जितपछि रियालका प्रशिक्षक कार्लो एन्सेलोटीले धेरै खेल्दा र विश्रामका लागि कम समय पाउँदा यस्तो नतिजा आउने बताएका छन् । यद्यपि यो जितपछि रियालले १९ खेलबाट ४५ अंक बनाएको छ । शिर्ष स्थानको बार्साको समान खेलबाट ५० अंक छ । भ्यालेन्सीया २० अंकसहित तालिकाको १४ औं स्थानमा छ ।