खेलाडीको आम्दानी कति ? (रिपोर्ट)

माघ १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
खेलाडीको आम्दानी कति ? (रिपोर्ट)

काठमाडौं । खेलाडीहरु देशका लागि मैदानमा मरिमेटेर खेल्छन् । तर नेपालमा खेलाडीले सामान्य जीवननिर्वाह गर्न र परिवारको लालनपालन गर्न सक्ने अवस्थासमेत छैन । क्रिकेट र फुटबल खेलाडीले केही रकम पाउने गरे पनि अन्य खेलका खेलाडीले एक रुपैयाँ पनि राज्यबाट पाउँदैनन् । यही कारण दिनहुँजसो राष्ट्रिय टिमका खेलाडी रोजगारीका लागि विदेशिन बाध्य छन् ।

नेपालमा फुटबल र क्रिकेट युवापुस्तामाझ लोकपि्रय छ । धेरैलाई लाग्न सक्छ, यी खेलका स्टार खेलाडीले धेरै कमाउाछन् । तर, अवस्था उल्टो छ । न त यहाँ नियमित प्रतियोगिता हुन्छन्, न क्लब नै व्यावसायिक छन् । जसको असर आम्दानीमा पर्दा खेलाडीहरु बर्सेनि बिदेसिइरहेका छन् । गत एक वर्षमा मात्रै ३० भन्दा बढी फुटबलर बिदेसिए । विभागीय खेलाडीले सीमित तलब पाउने गरे पनि प्रदेशका खेलाडीको अवस्था झनै दयनीय छ । सीमित अवधिसम्म परिवारको साथ पाए पनि त्यसपछि थपिने जिम्मेवारीले जीवननिर्वाहका लागि अन्य विकल्प खोज्नुपर्ने बाध्यता छ ।

फुटबलका राष्ट्रिय खेलाडीहरुले मासिक १८ हजार पाउँछन् भने क्रिकेटका खेलाडीलाई चार वर्गमा विभाजन गरी केहीलाई २५ हजारदेखि ४५ हजार रुपैयाँसम्म दिइन्छ । पुरुष खेलाडीको तुलनामा महिलाले अझै कम पाउँछन् । अन्य खेलका खेलाडीले सरकारका तर्फबाट एक रुपैयाँ पनि पाउँदैनन् ।

अझ फुटबलका अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदाको भत्ता पदाधिकारीले नै लिने गरेको आरोपसमेत लाग्ने गरेको छ । केही स्टार खेलाडीले विदेशका लिग खेल्ने अवसर पाए पनि बाँकी खेलाडी कसरी जीवननिर्वाह गर्ने भन्ने अन्योलमा हुन्छन् । केही दिनको स्याबासी र प्रशंसा, बाँकी समय अभाव, यही नियतिमा छन् नेपाली खेलाडी ।

अरु मुलुकलाई हेर्ने भने सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हुन्छ भने नियमित प्रतियोगिता, लिग भइरहेका हुन्छन् । खेलाडीले पाउने सुविधा पनि आकर्षक हुन्छ । तर, नेपालमा राम्रो सम्भावना भएका कुशल खेलाडी जीवननिर्वाहका लागि दिनहुँ पलायन हुँदासमेत न त खेलकुद परिषद्लाई चिन्ता छ, न सम्बन्धित संघलाई । सरकारले त सामान्य सोधखोजसमेत गरेको पाइँदैन । यस्तै अवस्था रहने हो भने नेपालको खेल क्षेत्र झन् पछि पर्दै जाने निश्चित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.