अमेरिकासँग इंग्ल्यान्डको बराबरी, नेदरल्यान्ड्सलाई इक्वेडरले बराबरीमै रोक्यो

मंसिर १०, २०७९
अमेरिकासँग इंग्ल्यान्डको बराबरी, नेदरल्यान्ड्सलाई इक्वेडरले बराबरीमै रोक्यो

दोहा । अमेरिकाले जारी विश्वकप समूह चरणको खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको छ । उत्कृष्ट अमेरिकाविरुद्ध अंकका लागि इंग्ल्यान्डले निकै संघर्ष गर्नुपर्‍यो ।

कतारको दोहास्थित अल बायत रंगशालामा भएको खेलमा इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटले अघिल्लो खेलकै स्क्वाडलाई मैदान उतारेका थिए ।

समूहको पहिलो खेलमा इरानमाथि ६ – २ गोलको फराकिलो जित निकालेको इंग्ल्यान्ड अमेरिकासँग भने सोहीअनुसारको प्रदर्शनलाई निरन्तरता दिन असफल भयो । बुकायो साकाको पासमा कप्तान हेरी केनले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । अमेरिकाका टिम वेहले निकालेको क्रसमा वेस्ट मेक्केनी सफल हुन सकेनन् । लगत्तै क्रिस्टियन पुलिसिचको प्रहार बारमा लागेर बाहिँरिदा अमेरिका अग्रता बनाउने सुनौलो अवसर बाट चुक्यो ।

मेसोन माउन्टले डेडलक तोड्ने मौका पाएका थिए । उनको सशक्त प्रहारलाई अमेरिकी गोलकिपर म्याट टर्नरले बचाएपछि इंग्ल्यान्ड निराश बन्यो । दोस्रो हाफमा भने हेरी केनले अन्त्य तिर प्रहार गरेको हेडर बाहेक इंग्ल्यान्डले उल्लेख्य खेल प्रदर्शन गर्न सकेन । यो खेल जितेको भए इंग्ल्यान्ड समूहको एक खेल बाँकी हुँदै अन्तिम १६ मा प्रवेश गर्ने थियो । अन्तिम खेलमा वेल्ससँग चार गोलको अन्तरले हार नब्यहोरे इंग्ल्यान्डले नक आउट चरणमा स्थान बनाउनेछ ।

लगातार दोस्रो बराबरी खेलेको अमेरिकाको पनि सम्भावना जिवितै छ । पहिलो खेलमा अमेरिकाले वेल्ससँग एक - एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा रहँदा तीन अंक जोडेको इरान दोस्रो र दुई अंकसहित अमेरिका तेस्रो स्थानमा छ । वेल्सको मात्र एक अंक छ । इरानले वेल्सलाई दुई शुन्य गोलले पराजित गरेको थियो ।

यस्तै समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले एक – एक गोलको बराबरी खेलेका छन् । एक शुन्य गोलले पछि परेको इक्वेडरलाई सुपरम्यान कप्तान एनर भ्यालेन्सियाले जोगाएका हुन् । 

दोहाको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा डच टिमले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । पिएसभी फरवार्ड कोडी गाक्पोले खेल सुरु भएको पाँच मिनेट चार सेकेन्डमै गोल गरेका थिए । जारी कतार विश्वकपको यो सबैभन्दा छिटो भएको गोल हो । इक्वेडरले सबै प्रतियोगितामा सात सय एक मिनेट पछि खाएको यो पहिलो गोल हो । गत मार्च यता इक्वेडरविरुद्ध कसैले गोल गर्न सकेका थिएनन् । तर भर्जिल भान डाइकको टोलीले बाँकी समयमा अग्रता जोगाउने किसिमको प्रदर्शन गरेनन्। इक्वेडरले लगातार नेदरल्यान्डसलाई चुनौती दिइरह्यो ।

इक्वेडरका पेरभिस एस्टोपिनियानले गरेको गोलले मान्यता नपाउँदा पहिलो हाफमा लुइ भान हालको टोली एक शुन्यले अघि रह्यो । तर ४९ औं मिनेटमा भ्यालेन्सियाले गोल गर्दै खेल बराबरी गरे । जारी विश्वकपका दुई खेलमा भ्यालेन्सियाको यो तेस्रो गोल हो । कतारविरुद्धको दुवै गोल पनि उनैले गरेका हुन् । अन्तिम मिनेटमा चोटग्रस्त हुँदै भ्यालेन्सिया सब्सिच्युट भएका थिए ।

यो नतिजापछि समूह ‘ए’ को समीकरण रोमान्चक बनेको छ । नेदरल्यान्ड्स, इक्वेडर र सेनेगल तीन टिम नक आउटको दौडमा छन् । शीर्ष स्थानको नेदरल्यान्ड्सको चार दोस्रो स्थानमा रहेको इक्वेडरको समान अंक छ । तेस्रो स्थानमा रहेको सेनेगलको तीन अंक छ । लगातार दुई खेल हारेको आयोजक कतार भने प्रतियोगिताबाट बाहिरिएको छ ।