काठमाडौं । ‘साथसाथै फाउन्डेसन’ र काठमाडौं विश्वविद्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा भएको छ । विश्व वातावरण दिवस २०२५ का अवसरमा सन् २०४५ सम्म कोइलामुक्त नेपालको भविष्य निर्माण गर्ने उद्देश्यका साथ कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित सङ्क्रमणको औपचारिक शुभारम्भ घोषणा गरिएको साथसाथै फाउन्डेसनको अध्यक्ष प्रजिता कार्कीले बताउनुभयो ।
काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रीन हाइड्रो ल्याब’का प्रमुख डा. विराजसिंह थापाले भने जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि विश्वविद्यालय र साथसाथै फाउन्डेसन मिलेर संयुक्त रूपमा काम गर्ने प्रयास थालेको बताउनु भयो ।
“मुलुकमा समृद्धि हासिल गर्न नवीकरणीय ऊर्जाको प्रयोग महत्त्वपूर्ण छ, जीवाश्म इन्धनको प्रयोगलाई निरुत्साहित गर्दै अगाडि बढ्न हामीसँग जलविद्युत्को पर्याप्त सम्भावना छ यसर्थ कोइलाको प्रयोग घटाउनुको विकल्प छैन”, डा. थापाले भन्नुभयो ।
घोषणा कार्यक्रममा मधेशी आयोगका सदस्य रेणु देवी साहले कोइलाको विकल्प तयार गर्न नवीकरणीय ऊर्जातर्फ उन्मुख हुनुपर्छ भन्नेमा जोड दिनुभएको थियो ।
घोषणा कार्यक्रममा सञ्चारविद् बद्री सिग्देलले हिमाल बचाउन सबै नेपाली जागरुक हुनुपर्ने बताउनुभयो ।
वक्ताहरूले कोइला बहिर्गमन कार्यक्रमले कोइलामा आधारित निर्भरता अन्त्यमा टेवा पुग्ने बताएका थिए ।
घोषणा कार्यक्रमले जलवायु नीतिका क्षेत्रमा नेपाललाई अग्रणी बनाउने उद्देश्यका साथ सन् २०२८ भित्र ‘नेपाल कोइला बहिर्गमन नीति’ को मस्यौदा तयार गर्ने, सन् २०३० सम्ममा सबै कोइला आधारित प्लान्टहरू बन्द गर्ने, सन् २०५० सम्ममा १०० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन क्षमता प्राप्त गर्ने, कोइला बहिर्गमनबाट प्रभावित श्रमिक र उद्योगका लागि न्यायोचित सङ्क्रमण सुनिश्चित गर्ने र जलवायु वित्त, नवीन प्रविधि र अन्तर्राष्ट्रिय साझेदारहरू परिचालन गर्ने लक्ष्य तय गरेको छ ।
कोइला सबैभन्दा प्रदूषणकारी जीवाश्म इन्धनमध्ये एक हो । कोइलाबाट कार्बनडाइअक्साइड मात्र नभई ब्ल्याक कार्बन पनि उत्सर्जित हुन्छ । साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयको संयुक्त पहलमा नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा भए पनि यसको कार्यान्वयनका निम्ति तीनै तहका सरकार र आम नागरिक जागरुक बन्नु पर्ने हुन्छ ।