इन्द्रजात्राको अवसरमा भक्तपुरमा निकालियो पुलुकिसी जात्रा

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इन्द्रजात्राको अवसरमा भक्तपुरमा निकालियो पुलुकिसी जात्रा

काठमाडौं । इन्द्रजात्राको अवसरमा भक्तपुरमा सांस्कृतिक महत्व बोकेको पुलुकिसी जात्रा निकालिएको छ । इन्द्रजात्राको आठौं दिन आइतबार पुलुकिसी जात्रा निकालिएको हो ।

इन्द्रले आफ्ना छोरा जयन्तलाई खोज्न हिँडेको सम्झनामा यो जात्रा मनाइने गरेको संस्कृतिविद् बताउँछन् । पुलुकिसी जात्रा तौमढीको आकास भैरवलाई पूजा गरेर सुरु गरिन्छ । भक्तपुरको लाकोलाछें टोलमा बाँसको मान्द्रोले बेरी नीलो कपडाले छोपेर हात्तीको जस्तै सुँढ राखी बनाइएको पुलुकिसी बाजागाजा सहित भक्तपुरका वंशगोपाल, इटाछें, दरबार क्षेत्र, सूर्यमढीलगायत स्थानको परिक्रमा गरिन्छ । पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुकिसी आउँदा सुँढले छोइएला कि भनी मानिसहरू परपर बस्छन् ।

देवराज इन्द्रको विश्वासिलो सेवक ऐरावत हात्ती अर्थात पुलुकिसीलाई जात्राका क्रममा वंशगोपाल चोकमा धान खुवाउने, दरबार क्षेत्रमा आगो तपाउने र दत्तात्रयस्थित इनारमा पानी खुवाउने प्रचलन छ ।

पुलुकिसी जात्रासँगै आकाश भैरवको खट जात्रा, आकासेबत्ती र तीन दिन मनाइने मूपात्र जात्रा समेत सम्पन गरिन्छ ।

पुलुकिसी जात्रासँगै लाखे जात्रापनि सम्पन्न भएको छ । इन्द्रजात्राको अवसरमा एक सय वर्षपछि भक्तपुर रन्जितकार समाजले लाखे जात्रा निकालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement