फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ : नेतृ भुसाल

मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ : नेतृ भुसाल

दमौली (तनहुँ) । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । 

नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै नेतृ भुसालले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधि सभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गर्नुभयो ।नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताउनुभयो । 

निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उहाँले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेतृ भुसालले भन्नुभयो, “जेन-जी आन्दोलनपश्चात् देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ । संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ ।”

नेपाली जनताको रगत र पसिनाबाट निर्माण भएको संविधान रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै नेतृ भुसालले जनतामा देखिएको नैराश्यता सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा सो पार्टीका नेता श्रीनाथ बरालले देशलाई स्थिरताको बाटोमा लैजानुपर्ने बताउँदै त्यसैका लागि कम्युनिष्ट पार्टीबीच एकता भएको उल्लेख गर्नुभयो । 

सुशासन कायम गर्दै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिँदै उहाँले सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यक रहेको चर्चा गर्नुभयो । पार्टीका नेता हरिबहादुर चुमानले एकताको सन्देश पालिका र वडास्तरसम्म पुर्याउनुपर्ने बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.