
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले इच्छाशक्ति भएमा निर्वाचनअगाडि नै पार्टीको महाधिवेशन गर्न सकिने भन्दै विशेष महाधिवेशनको प्रस्ताव राख्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको हिजोको बैठकमा उहाँले मंसिर २७ र २८ गते विशेष महाधिवशेन गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो । केन्द्रीय कार्यसमितिमा सबैको धारणा बुझिसकेपछि विशेष महाधिवेशन गर्नुपर्ने निचोडमा आफु पुगेको उहाँले बताउनुभयो ।
पार्टीलाई आम सुधार नगरी निर्वाचनमा जाँदा नागरिकले विश्वास नगर्ने भन्दै पार्टीको महाधिवेशन अनिवार्य गरेर मात्रै जानुपर्ने उहाँले बताउनुभयो । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा थापाले पछिल्लोपटक पार्टीमा सिद्धान्तभन्दा शक्तिलाई प्राथमिकतामा राख्दा विचलन बढेको र नवयुवाहरु आक्रोशित भएको धारणा राख्नुभएको थियो ।
निर्वाचनअगाडि पार्टीभित्रको आन्तरिक विषयमा प्रवेश गर्न नहुने भनेर संस्थापनपक्षले लिइरहेको अडानको प्रतिवाद गर्दै थापाले सधैंभरि महाधिवेशन पार्टीको आन्तरिक विषय नहुने र यो अहिले यो राष्ट्रिय विषय बनेको दावी गर्नुभयो ।