मधेशका सभामुखले गरे ५ प्रदेश सदस्यलाई पदमुक्त

कार्तिक २८, २०८२ |अमरकान्त ठाकुर
मधेशका सभामुखले गरे ५ प्रदेश सदस्यलाई पदमुक्त

धनुषा ।  मधेशमा सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका ५ सदस्यलाई पदमुक्त गर्नुभएको छ । ७ दलले हिजो सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कारबाहीस्वरुप उहाँले ५ जना प्रदेशसभा सदस्यलाइ पदमुक्त गर्नुभएको हो ।

पदमुक्त हुनेमा उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदा-शंकर प्रसाद कलवार (जसपा) छन् । संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएको मितिदेखि प्रदेससभा सदस्यबाट पदमुक्त गरेको प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।

कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै ७ दलले 'सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्ताव' दर्ता गरेका थिए ।

महाभियोग प्रस्ताव दर्ता गराउन प्रदेश सभा पुगेका विभिन्न पार्टीका १५ जना भन्दा बढी प्रदेश सभा सदस्यलाई सभामुख मण्डल समर्थक एमालेका कार्यकर्ताहरूले केहीबेर प्रदेशसभा सचिवालयमै थुनेका थिए । पछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट निकालेको थियो । एमालेको तर्फबाट मधेश प्रदेशको सभामुख नियुक्त हुनुभएका रामचन्द्र मण्डल नेकपा विभाजनअघि माओवादी केन्द्रमा हुनुहुन्थ्यो ।

यसैबीच मधेश प्रदेशका नवनियक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले हिजो पदभार ग्रहण गर्नुभएको छ । एक होटलमा गएर मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेर कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।