निर्वाचन सफल बनाउन मिलेर अघि बढ्ने संघ र प्रदेश सरकारबीच सहमति

दलहरूलाई विश्वासमा लिन मुख्यमन्त्रीहरूको जोड
कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन सफल बनाउन मिलेर अघि बढ्ने संघ र प्रदेश सरकारबीच सहमति

काठमाडौं । संघ र प्रदेश सरकारबीच फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल बनाउन मिलेर अघि बढ्ने सहमति भएको छ। 

सरकारले चुनावमा सघाउन आग्रह गरेपछि मुख्यमन्त्रीहरूले भने सुरक्षासहितको वातावरण बनाउन सुझाव दिए । जेन-जी आन्दोलन र त्यसपछिका घटनाक्रम तथा सरकार परिवर्तनपछिको अवस्थाबारे प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता थियो । प्रधानमन्त्री सुशीला कार्कीले प्रदेश सरकार र राजनीतिक भूमिकाको हिसाबले पनि चुनाव सफल बनाउन मुख्यमन्त्रीहरूको सहयोग अनिवार्य हुने बताउनुभएको थियो ।

मुख्यमन्त्रीहरूले निर्वाचनमा जानुको विकल्प नभए पनि प्रमुख चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरतासाथ लाग्नुपर्नेमा जोड दिनुभयो । जेन-जी आन्दोलन र त्यसपछिका घटनाक्रममा क्षति पुगेका संरचना पुनःनिर्माणका लागि संघ सरकारले नै प्याकेज ल्याउनुपर्ने सुझाव उहाँहरूको थियो । 

यस्तै मुख्यमन्त्रीहरूले खर्च कटौतीका लागि संघीय सरकारले गरेको परिपत्रले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको पनि बताउनुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.