जनकपुर । कांग्रेसको विरोध र नाराबाजीका बीच मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुभएका जितेन्द्रप्रसाद सोनलले यही कात्तिक २२ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँटमा असहमति कायमै रहेको र दलहरूभित्र पनि मन्त्री बन्ने आंकाक्षी धेरै रहेका कारण मन्त्रिपरिषद् विस्तार हुनुअघि नै सरकारले विश्वासको मत लिन लागेको हो । यता प्रतिपक्षी कांग्रेस र एमाले विश्वासको मत प्राप्त गर्न नदिने रणनितिमा लागेका छन् ।
गएको असोज २९ गते लोसपा नेपालका प्रदेशसभा सदस्य जितेन्द्रप्रसाद सोनल मधेशको चौथाैं मुख्यमन्त्री नियुक्त हुनुभयो । पद तथा गोपनियताको सपथ लिएको २४ दिनपछि कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने उहाँको तयारी छ । सत्तारूढ दलहरूबीच सहमति जुटाएर उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
पाँच दलको समर्थनमा सोनलको नेतृत्वमा सरकार गठन भएको आइतबार १९ भएको छ । तर मन्त्रालय बाँडफाँट र साझेदार दलहरूभित्र मन्त्रीका आंकाक्षी धेरै रहेका कारण अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन भने सकेको छैन । बाराबाट प्रदेश सभा सदस्यमा लगातार दोस्रो पटक निर्वाचित जितेन्द्रप्रसाद सोनल लोसपा नेपाल, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा समाजवादीका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मधेशको मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।
तर हाल समय एक एक जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको समेत समर्थन रहेको गठबन्धनको दाबी छ । तात्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि अन्तिम समयमा जनमत पार्टीले कित्ता परिवर्तन गरेसँगै मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी पेस गरिसकेको कांग्रेसको सरकारको नेतृत्व लिने दाउ विफल भएको थियो ।
त्यसको बदला लिन एमाले कांग्रेस सोनललाई विश्वासको मत पुर्याउन नदिने रणनीतिमा लागेका छन् । तर, बाहिर भने एमालले औपचारिकरूपमा समर्थन मागेमा विचार गर्न सकिने बताएको छ । नेकपा एमाले, जसपा नेपाल र लोसपा नेपालका एक-एक जना निलम्बनमा परेपछि १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा हाल १ सय ४ जना सदस्य छन् ।
त्यसैले सोनल नेतृत्वको सरकारलाई बहुमतका लागि ५३ जनाको समर्थन भए पुग्छ । तर, सरकारमा सहभागी जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्ऽका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति तथा नेपाल संघीय समाजवादी पार्टीका एक एक जना प्रदेशसभा सदस्यसहित मुख्यमन्त्री सोनललाई ५७ जनाले नै समर्थन गरेमा सुविधाजनक बहुमत पुग्छ ।