काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक कलह बढ्दै गएको छ । आफू पक्षीय नेताहरूलाई कारबाही गरेको भन्दै असन्तुष्ट शेखर कोइराला पक्षले आइतबार छुट्टै भेला गर्दै आफ्नो पक्षका मन्त्रीहरूलाई सरकारबाट राजीनामा गर्न लगाएर सभापति शेरबहादुर देउवामाथी दबाब बढाउने रणनीति लिएको छ ।
केहि दिनअघि मात्र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका नेता शेखर कोइरालाले आइतबार आफुपक्षीय नेताहरूसँग छलफल गरेर सभापति देउवाबिरूद्ध दबाब बढाउने रणनिति लिएका हुन् ।
कोइरालानिकट नेताहरूले आफ्ना पक्षका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने विषयमा छलफल भएको दाबी गरेका छन् । पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने अधिकांश शेखर पक्षका सांसद तथा नेताहरूको भनाइ छ ।
बैठकमा सहभागि अर्का एक नेताले दिएको जानकारीअनुसार पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने, आफ्ना पक्षका नेतालाई गरिएको कारबाही फिर्ता नभए सरकार र सभापति देउवाका हरेक निर्णयमा असहयोग गर्ने र परिस्थिति आए विद्रोह सम्म गर्ने गरी छलफल भएको दाबी गरेका छन् ।