काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै छलफल भएको बताउनुभएको छ ।
आइतबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको सदस्यता नविकरण पहिलै भइसकेको पनि बताउनु भयो ।
नेकपा एमाले पोलिटब्यूरो बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरूले पार्टीमा सक्रिय रूपमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीबारे के गर्ने भन्नेबारेमा पार्टी अध्यक्षले छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । नेताहरूको सुझावपछि आइतबार दुई नेताबीच भेट भएको हो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुरा भयो । पार्टी सदस्यता नविकरण पहिला नै भइसकेको छ ।’
पछिल्लो समय भण्डारीलाई एमालेमा सक्रिय रूपमा ल्याउनुपर्ने भन्दै पार्टीका नेताहरूले नै आवाज उठाइरहेका छन् । ओली पक्षधर नेताहरूले भने गौरवमय स्थानमा पुगिसकेको व्यक्तिलाई पार्टीमा सक्रिय भुमिकामा ल्याउन नसकिने बताइरहेका छन् ।