आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोइरालाको पक्षमा कांग्रेसमा ६० प्रतिशत सांसदहरू रहेको दाबी गर्नुभएको छ ।

पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरूसँगको भेटपछि आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरूलाई फिर्ता बोलाउने बारेमा पनि छलफल भएको बताउनु भयो । 

उहाँले यसको निष्कर्ष भने निस्किन नसकेको र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको बताउनु भयो । उहाँले संसदीय दलको नेतामा भिड्न सांसद कोइरालाले चाहने हो भने ६० प्रतिशत पुग्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा जति पनि साथीहरू केन्द्रीय स्तरमा वा प्रदेश स्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यी सबै साथीहरूलाई ब्याक बोलाउने भन्नेसम्म पनि जानसक्छ । त्यसैको निम्ति एक दुई दिन हामीलाई समय लाग्छ । आजका मितिमा डा. शेखर कोइरालाले चाहँदाखेरी संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ । संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ । अहिले देश रोएको अवस्था छ ।’

सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी रेन्यु गरेको बताउनु भयो । वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोइरालाले राख्दै आउनुभएको छ । 

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेसँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.