शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं

काठमाडौं । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले डा. शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ ।

पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरूसँगको भेटपछि आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताउनु भयो । 

बैठकमा नेता कोइरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गर्नुभएको उहाँले बताउनु भयो । सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसालगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताउनुभएको डा. कोइरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । डा. शेखर कोइरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रिफिङ गर्नुभयो । पार्टी फुटाउने चाहना, हर्कत गरिरहनुभएको होइन । किन यसरी मुभ गरिरहनुभएको छ भन्ने प्रश्न भयो । अनुकुलअनुसार भेटेर आफ्नो कुरा राख्नुभएको हो । सुशासनको कुरा भएको छ । संसद्मा उठेको भिजिट भिसालगायतका कुराहरूमा राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरूसँग कुरा राखेको हो भन्ने कुरा राख्नुभएको छ ।’

राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरूसँग कुरा गर्नुलाई सामान्य रूपमा लिनुपर्ने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.