काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ अन्तिम साता भारत भ्रमण गर्ने तय भएको छ ।
२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले पद सम्हालेको १४ महिनापछि भारत भ्रमण गर्ने निश्चित भएको हो । प्रधानमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको, तर भ्रमण तालिका छोटो रहेको जनाएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा तय गर्न आन्तरिक गृहकार्यमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण तय भएको जनाइएको छ ।
प्रधानमन्त्रीको भ्रमण दुई पक्षीय सम्बन्धलाई बलियो बनाउनमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच नेपाल र भारतबीच मंगलबार गृहसचिवस्तरीय बैठक हुने भएको छ ।
बैठकमा सहभागी हुन गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाली टोली नयाँदिल्ली जान लागेको हो । मंगलबारदेखि सुरू हुने दुई दिने बैठकमा अन्तरदेशीय अपराध, सीमा व्यवस्थापन, तस्करी नियन्त्रणलगायतका विषयमा छलफल हुने जनाइएको छ ।