काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ ।
आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका सदस्यहरूले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् । निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरूले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताउनु भयो ।
उहाँले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्थाबारे आफूहरूले आयोगलाई झक्झक्याएको बताउनु भयो । आयोगले पार्टीले दिनुपर्ने कागजातहरू सबै पुगेको जानकारी गराएको पनि उहाँले बताउनु भयो । पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाएपनि अद्यावधिक नगरिएको आरोप उहाँको छ ।
अद्यावधिकको क्रममा द्रुत गतिमा अघि बढ्नुपर्ने माग आफूहरुले राखेको उहाँले बताउनु भयो ।