काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगनमा रहेको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा विवाद भएपछि कुनै निष्कर्ष निस्कन नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण स्थगनमा रहेको जानकारी दिनुभयो ।
बैठकमा अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर भएको बताएपछि पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निकालिएको थियो । यस्तै पोलिटब्युरो बैठकले विधानमा प्रस्तावित उमेर हद र अध्यक्षको दुई कार्यकाल हटाउने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रचार विभाग प्रमुख गौतमले केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधनसम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकार गरेको जानकारी दिनुभयो । पार्टीभित्रको दुई सदस्यताको व्यवस्था र उमेर हदको व्यवस्थालाई खारेज गर्ने कुरा बैठकले स्वीकार गरेको पनि उहाँले बताउनु भयो ।